• २३ पुस २०८१, मङ्गलबार

छोराछोरीलाई बालश्रमिक बनाइँदै

blog

इँटा उद्योगमा प्रयोग गराइएका बालश्रमिक । तस्बिर : यादवराज पुरी

यादवराज पुरी

रौतहट, मङ्सिर ११ गते । रौतहटको गुजरा नगरपालिकामा रहेका इँटा उद्योगमा श्रमिक अभिभावकले नै आफ्ना नानीबाबुलाई श्रम गर्न लगाएको पाइएको छ । 

बालश्रम न्यूनीकरण परियोजना सञ्चालनमा रहेको उक्त पालिकाका पदाधिकारीले इँटा उद्योग अनुगमन गर्ने व्रmममा पाँच वर्षमाथि र १५ वर्षमुनिका बालबालिकालाई श्रमिक अभिभावकले नै श्रम गर्न लगाएको निष्कर्ष निकालेको हो । नगरपालिकाका उपप्रमुख रत्ना लामाले भन्नुभयो, “उद्योगले छ महिना इँटा बनाउने काम गर्छ । इँटा बनाउन पूरै परिवारसँगै आउँछन् र उक्त अवधिभर अभिभावकले आफ्ना नानीबाबुलाई समेत श्रम गर्न लगाउँछन् ।” 

उक्त पालिकामा रामजानकी, रोयललगायत एक दर्जन इँटा उद्योग सञ्चालनमा छन् । इँटा बनाउन मकवानपुर, सर्लाही, बारालगायतका जिल्लाबाट परिवारसहित आउने गरेको बताइएको छ । उनीहरू छ महिनासम्म उद्योगमै बस्ने हुनाले सँगै ल्याएका बालबालिकालाई पनि श्रमिकका रूपमा प्रयोग गरेको पाइएको परियोजनाका संयोजक शेष अर्सदले जानकारी दिनुभयो । 

उद्योगमा काम गर्ने  एक जना श्रमिकले बालबालिका हेर्ने घरमा कोही नहुँदा बाध्य भएर आफूसँगै ल्याउनु परेको र काममा सघाउन लगाएको बताउनुभयो । श्रम गर्ने स्थानमा स्थानीय निकायले बालबालिकालाई पढाउने व्यवस्था गरिदिए उनीहरूको पढाइ पनि नटुट्ने उहाँले बताउनुभयो । उपप्रमुख लामाका अनुसार अभिभावकसँगै आएका बालबालिका पढ्न पाउने अधिकारबाट वञ्चित हुने वा पढाइ अवरुद्ध हुने हुनाले उनीहरूको पढाइलाई निरन्तरता दिन विचारविमर्श गरिएको छ ।