काठमाडौँ, मङ्सिर ११ गते । बलिउडका पछिल्लो पुस्ताका सर्वाधिक सफल निर्देशकमा पर्नुहुन्छ, कबिर खान । ‘काबुल एक्सप्रेस’ बाट सिनेमा निर्देशनमा होमिएका कबिरले त्यसयता ‘न्युयोर्क’, ‘एक था टाइगर’, बजरङ्गी भाइजान’, ‘८३’, ‘चन्दु च्याम्पियन’ लगायतका सिनेमा निर्देशन गरिसक्नुभएको छ । यसै साता उहाँ फिल्म साउथ एसिया महोत्सवको प्रमुख अतिथिका रूपमा काठमाडौँ आउनुभएको हो । बलिउडको मूलधारे सिनेमामा आफ्नो बेग्लै नाम र पकड बनाउन सफल कबिर खानसँग राससले महोत्सवका दौरानमा संवाद गरेको थियो । प्रस्तुत छ, बलिउडका निर्देशक खानसँग राससका समाचारदाता अशेष अधिकारीले गर्नुभएको संवादको सम्पादित अंश :
० डकुमेन्ट्री सिनेमामा लागेकामा मूलधारका सिनेमा गर्ने उतिसारो मोह भएको पाइँदैन, तपाईंमा यो मोह कसरी जाग्यो ?
म मूलधारको सिनेमा गर्नेमा सधैँ स्पष्ट थिएँ । ती दिनमा डकुमेन्ट्री सिनेमाका लागि दर्शकको ज्यादै अभाव थियो । ती दर्शकसँग पुग्न मलाई कठिन भइरहेको थियो । आज जस्तो ओटिटीलगायत डिजिटल प्ल्याटफर्म पनि थिएनन् । योसँगै मैले यो देशमा मूलधारका सिनेमा नै शक्तिशाली भएको बुझिसकेको थिएँ र यसैले पनि यतातिर आएँ ।
० पहिलो सिनेमा ‘पिच’ गर्न कति गाह्रो/सजिलो भयो ?
सजिलो त भएन । जब म मेरो यात्रालाई फर्केर हेर्छु, त्यो त्यति खराब पनि थिएन । एक वर्षसम्म कुनै निर्माताले लगानी गर्ला भनेर स्क्रिप्ट बोकेर हिँडिरहेको थिएँ । त्यो समयमा चाहिँ मलाई एकदमै कठिन र लामो यात्रा जस्तो लागेको थियो । मेरो पहिलो सिनेमा ‘काबुल एक्सप्रेस’ त्यो समयका हिसाबले पृथक् थियो । त्यसमा कुनै प्रेमकथा वा प्रेमका गीतहरू थिएनन्, बिल्कुलै फरक थियो । अन्त्यमा अचम्मसँगले बलिउड सिने उद्योगको ठुलो नाम ‘यसराज फिल्म्स’ ले मेरो स्क्रिप्ट लियो र तीन वटा सिनेमाका लागि अनुबन्धसमेत ग¥यो ।
० ‘काबुल एक्सप्रेस’ पछि निर्देशकका हिसाबले तपाईंको बुझाइ र भोगाइ कस्तो रह्यो ?
सपना साकार भएझैँ भयो । ठुलो पर्दामा त्यो सिनेमा ल्याउनु एक प्रकारले बोनस जस्तो भयो । म सौभाग्यशाली रहेँ, जसले आदित्य चोपडा जस्तो निर्माता पायो । उनले मलाई तीन भिन्न प्रकारका सिनेमा बनाउने अवसर प्रदान गरेँ । मैले यसराजका लागि ‘काबुल एक्सप्रेस’, ‘न्युयोर्क’ र ‘एक था टाइगर’ गरी तीन वटा सिनेमा बनाएँ र ती तीन वटै सिनेमा एकअर्काभन्दा फरक थिएँ । त्यसकारणले त्यो एकदमै ठुलो प्रशिक्षण मैदान जस्तो भयो सिनेमा निर्माणको ।
० सिनेमाका लागि तपाईं कथा कसरी खोज्नुहुन्छ?
जोकोहीबाट पनि कथा आउन सक्छ । तपाईंको व्यक्तिगत अनुभवबाट पनि आउन सक्छ, जस्तो ‘काबुल एक्सप्रेस’ मा मलाई आएको थियो । अखबारमा तपाईंले पढ्नुभएको समाचार पनि हुन सक्छ, जस्तो ‘चन्दु च्याम्पियन’ । यो अखबारमा मैले पढेको लेखबाट आएको हो र ती ऐतिहासिक सन्दर्भबाट पनि हुन सक्छन् वा कसैले तपाईंले सुनाएको कुराबाट पनि हुन सक्छ, जसबाट ‘बजरङ्गी भाइजान’ बन्यो । त्यो मलाई विजयन्त्रप्रसादले हैदराबादबाट पठाइदिनुभएको थियो, जुन मलाई पढ्नेबित्तिकै मन परेको थियो । त्यसकारण कथा जुनकुनै तरिकाबाट तपाईंले पाउन सक्नुहुन्छ । त्यसपछि हो त्यसलाई स्क्रिप्टमा ढाल्ने ।
० केही वर्षयता दक्षिण भारतीय सिनेमाहरूले आफ्नो प्रभाव विस्तार गरिरहेका छन् । बलिउडले त्यताका सिनेमालाई कसरी हेरिरहेको छ ?
यो एउटा स्वागतयोग्य परिवर्तन हो । हामीले भारतमा यो बलिउडको, यो दक्षिणको वा यो पन्जाबको सिनेमा भन्दा पनि यी भारतीय सिनेमा हुन् । हामी दर्शकलाई हलसम्म ल्याउन सफल भइरहेका छौँ, यो नै महान् उपलब्धि हो । यसको फाइदा समग्र उद्योगलाई नै पुगिरहेको छ ।
० धेरै दक्षिण भारतीय सिनेमाहरूले पछिल्लो समय नेपाललाई सुटिङ गन्तव्य बनाइरहेका छन्, कबिर खानलाई नेपालमा कहिले सुटिङ गर्दै गरेको देख्न पाइएला ?
मैले फेस्टिभलको संवाद सत्रमा पनि भनिसकेको छु– म नयाँ कथाको खोजीमा छु । नेपालको सेटिङ भएको उत्साहजनक कथा भेटियो भने नेपालमा सुटिङ गर्न उत्साहित हुने छु । नेपाल सुटिङका हिसाबले मनमोहक ठाउँ हो र यो प्राकृतिक रूपमा मात्र नभई काठमाडौँको चरित्र, यहाँका मानिसहरूका कारण पनि राम्रो ठाउँ हो । सही कथा र काठमाडौँको कथा भएमा अवश्य नै मेरो छायाङ्कन स्थल काठमाडौँ बन्ने छ ।
० यहाँ आएपछि कुनै नेपाली सिनेमा हेर्नुभयो कि भएन ?
छैन । म यहाँ आएको दुई दिन मात्र भयो तर मैले हाल चलिरहेको सिनेमाका बारेमा एकदमै राम्रो चर्चा सुनेको छु, नामचाहिँ पूरा बिर्सें (पूर्ण बहादुरको सारङ्गी) । कुनै विन्दुमा हेर्छु होला तर यो यात्रामा चाहिँ अलिक सम्भव छैन किनकि महोत्सवमै व्यस्त भएकाले त्यसका लागि समय निकाल्न सक्दिनँ मैले । स्थानीय दर्शकबाट यसरी साथ पाउनु एकदमै राम्रो कुरा हो । यसरी आफ्नाको साथ पाउनु आफैँमा एउटा महान् कुरा हो ।