• २३ पुस २०८१, मङ्गलबार

नारायणी अस्पतालमा ‘क्याथ ल्याब मेसिन’ छ , उपयोग छैन

blog

वीरगञ्ज (पर्सा),  मङ्सिर १० गते ।  ‘क्याथ ल्याब मेसिन’ जडान गर्ने स्थानका अभावमा नारायणी अस्पताल वीरगञ्जमा उपकरण थन्किएको छ । मुटुको शल्यक्रिया लगायतका उपचारमा प्रयोग हुन सो महत्वपूर्ण उपकरण सञ्चालनमा नल्याइँदा बिरामीलाई अन्यत्र रिफर गर्नुपरेको जनाइएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक निजी आपूर्ति कम्पनीमार्फत २०७६ चैतमा चार करोड ९२ लाख  १० हजार मूल्य पर्ने क्याथ ल्याब मेसिन अस्पताललाई आपूर्ति गरेको थियो । तर अस्पताल प्रशासनले भने मेसिन राख्ने भवनको अभाव देखाउँदै हालसम्म पनि सो मेसिन जडान हुन सकेको छैन ।  नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले सघन सहरी तथा भवन निर्माण कार्यालयले गत २०७८ सालदेखि क्याथ ल्याब राख्ने भवन निर्माण गर्दै आइरहेको बताउनुभयो । ‘‘कार्यालयले आगामी पुस महिनाभित्रै क्याथ ल्याब राख्ने भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने कुरा गरिरहेको छ,’’ उहाँले भन्नुभयो,‘‘क्याथ ल्याब मेसिन धेरै समय अघि अस्पतालमा आइसकेको छ । भवन तयार हुनेबित्तिकै जडान गर्ने प्रक्रिया अघि बढाउनेछौं ।’’

मेसु दासले क्याथ ल्याब जडानसँगै प्राविधिक जनशक्ति तयार पारेर यस वर्षभित्रै ल्याथ ल्याब सञ्चालन गर्ने दाबी गर्नुभयो । रासस