• २१ पुस २०८१, आइतबार

‘सार्कका पत्रकारबिच सहकार्य आवश्यक’

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ

गोरखापत्र समाचारदाता 

काठमाडौँ, मङ्सिर १० गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्कभित्रका पत्रकारको सद्भाव र सहकार्य हुन आवश्यक रहेको बताउनुभएको छ । सार्क जर्नलिस्ट एसोसिएसनले आइतबार काठमाडौँमा आयोजना गरेको ‘फस्र्ट सार्क जर्नलिस्ट अवार्ड सेरमोनी २०२४ एन्ड डिस्कसन्स अन रिच कल्चरल हेरिटेज अफ सार्क कन्ट्रिज’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले उक्त संस्थाको क्षेत्रीय सदस्य राष्ट्रको व्यावसायिक विशेषज्ञ, सिप अभिवृद्धि गर्ने प्रमुख उद्देश्य हुनुपर्ने उल्लेख गर्नुभयो ।

मन्त्री गुरुङले सार्कभित्रका पत्रपत्रिका, विद्युतीय अनलाइन समाचार संस्थाको प्रतिनिधित्व गर्दै सार्क राष्ट्रभित्र स्थापित संस्थाको उद्देश्य साझा हितमा केन्द्रित हुनुपर्ने बताउनुभयो । उक्त संस्थाले पुरस्कार स्थापना गर्न, अनुसन्धान र विकास गर्न रचनात्मक सम्बन्ध कायम हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “प्रेसले शान्ति, स्वतन्त्रता, मानव अधिकार, मर्यादा र स्वतन्त्रता स्थापना गर्दै पत्रकारहरूबिच सद्भावना प्रवर्धन गर्दै सिप अभिवृद्धि गर्नु पर्छ ।” 

उक्त कार्यक्रमले सार्क राष्ट्रको पत्रकारिताको व्यावसायिक र उद्योगका बिचको सहकार्यको प्रतीकका रूपमा झल्काउने उहाँले स्पष्ट पार्नुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियालाई कसरी बचाउने र टिकाउने भन्ने साउथ एसियाको साझा समस्या भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोग दुवै भएका छन् । यसलाई अद्यावधिक सूचना आदानप्रदान गर्न कसरी उपयोग गर्न सकिन्छ भन्ने सवालमा साझा बुझाइ बनाउनुपर्ने आवश्यकता देखिएको छ ।” उहाँले सूचना प्रविधिको विकाससँगै पत्रकारितामा चुनौती थपिएकाले त्यसमा कसरी सामना गर्न सकिन्छ भन्ने बारेमा बहस र छलफल हुनुपर्ने बताउनुभयो । 

सार्क जर्नलिस्ट एसोसिएसनका अध्यक्ष डा. नटराज रायले साउथ एसियाका पत्रकारका समस्या केलाउँदै अनलाइन पत्रकारिताका बारेमा मिडियाका विद्यार्थीलाई प्रशिक्षित गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो । उक्त कार्यक्रममा १५ भन्दा बढी सार्कभित्रका पत्रकारलाई सम्मानित गरिएको थियो ।