• ८ मंसिर २०८१, शनिबार

कागती खेतीबाट राम्रो आम्दानी गर्दै वली

blog

तुलसीपुर उपमहानगरपालिका–३ भट्टेमा गरिएको कागती खेती । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, मङ्सिर ८ गते । तुलसीपुर उपमहानगरपालिका–३ भट्टे निवासी कर्णबहादुर वली विगत पाँच वर्षदेखि व्यावसायिक कागती खेतीमा लाग्नुभएको छ । सरकारी जागिरबाट अवकाशपछि कृषि पेसा रोज्नु भएका वलीले गाउँमै करिब छ कठ्ठा बढी क्षेत्रफलमा व्यावसायिक कागती खेती गरेर आम्दानी लिँदै आउनुभएको छ । 

वार्षिक रूपमा तीन क्विन्टल बढी कागती बिक्री गर्दै आउनुभएका वलीले राम्रै आम्दानी भएको बताउनुहुन्छ । अन्य कृषि पेसामाजस्तो धेरै मेहनत गर्न नपर्ने र बिक्रीका लागि समस्या नहुनेपछि कागती खेती सुरु गरेको बताउनुभयो । 

कागती राम्रो उत्पादनसँगै बिक्री गर्न सहज हुने भएकाले कागती खेती गरेको भन्दै वलीले भन्नुभयो, ‘पछिल्लो समय कागतीको माग बढ्दै गएको छ । मागको तुलनामा जिल्लामा उत्पादन नहुँदा बाहिरबाट आउने गरेको छ । जिल्लामा उत्पादन गर्न सके फाइदा नै हुन्छ ।’ 

वलीजस्तै घोराही उपमहानगरपालिका–१६ तेरौटे निवासी प्रतीक लोहनीले चार बिघा बढी क्षेत्रफलमा व्यावसायिक कागतीखेती सुरु गर्नुभएको छ । लामो समय अध्ययन तथा रोजगारीका सिलसिलामा अमेरिका बस्नुभएका लोहनीले विगत दुई वर्षदेखि आफ्नै पुर्खौली थलोमा व्यावसायिक कागती खेती थाल्नुभएको छ । 

तेरौटेमा करिब चार बिघा जग्गा भाडामा लिएर एक हजार पाँचसय ५० बिरुवा रोप्नुभएको छ । उहाँका अनुसार तीन वर्षमा उत्पादन दिने सुन कागतीका बिरुवा गतवर्ष पर्वतबाट ल्याएर रोप्नुभएको थियो । गतवर्ष रोपेका केही बिरुवाहरूमा यो वर्षदेखि नै फल लाग्न सुरु गरेको भन्दै लोहनी भन्नुहुन्छ, ‘सुन कागतीको बिरुवाले सामान्यतया रोपेको तीन वर्षदेखि उत्पादन दिने भनिन्छ, तर यहाँ दुई वर्षमै कतिपय बिरुवामा फल लागेको छ ।’ 

बोट सानो भए पनि यो वर्ष लागेका फलहरू परीक्षणका रूपमा रहन दिएको बताउनुहुन्छ । सुख्खा ठाउँ भएकाले थोपा सिँचाइ प्रविधिको माध्यमबाट प्रत्येक बोटमा पानी पुग्ने व्यवस्था गर्नुभएको लोहनीले गाउँलाई ग्रिन भिलेजका रूपमा विकास गर्ने उद्देश्य रहेको बताउनुहुन्छ । 

अन्य तरकारीको तुलनामा कागतीलाई रोगको सङ्क्रमणको डर क्रमसँगै एक पटक रोपेपछि वर्षाैँसम्म उत्पादन लिन सकिने र उत्पादन भएको कागती बिक्री गर्न समेत सजिलो हुने भएकाले कागती खेतीमा  लागेको बताउनुहुन्छ । 

कृषि प्राविधिकसँगको परामर्शबाट कागती व्यवसाय सुरु गरेको भन्दै उहाँले भन्नुभयो, ‘अहिले खेतको आलीमा बेर्ना हुर्कँदै छन्, कति त सानैमा पनि फल्न थालिसकेका छन् । थोरै बोट भए पनि उत्पादन राम्रै रहेको छ ।’ 

वली र लोहनी मात्र होइन, कागतीबाट राम्रो आम्दानी लिन सकिने भएपछि जिल्लामा पछिल्लो समय व्यावसायिक कागती खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । कुनै समय सामान्य घरायसी प्रयोजनका लागि मात्र दुई–चार बोट रोप्ने गरिएपछि पछिल्लो घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र बंगलाचुली गाउँपालिकाका विभिन्न ठाउँमा कागतीको व्यावसायिक खेती र उत्पादन बढ्दै गएको छ ।

कृषि ज्ञान केन्द्र दाङका अनुसार दाङमा दुई वर्ष पहिले ५० हेक्टर क्षेत्रफलमा कागती खेती हुने गरेको थियो । तर अहिले बढेर तीनसय हेक्टर बढी क्षेत्रफलमा कागती खेती भइरहेको छ । त्यसमध्ये करिब १५० हेक्टरमा वार्षिक ६ सय बढी मेट्रिक टन कागती उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ तथा सूचना अधिकारी पृथ्वीराज लामिछाने बताउनुहुन्छ । 

अन्य कृषि व्यवसायको तुलनामा कम लगानी र मेहनतबाटै राम्रो आम्दानी लिन सकिने भएकाले धेरै ठाउँमा पछिल्लो समय व्यावसायिक कागती खेती हुन थालेको बताउनुभयो ।