काठमाडौँ, मङ्सिर ८ गते । मुलुकबाट १४ करोड रुपियाँ बराबरको कफी निर्यात हुँदा आयात भने झन्डै तेब्बरले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा १४ करोड ९२ लाख रुपियाँ बराबरको ८९ मेट्रिक टन कफी निर्यात हुँदा बाहिरी मुलुकबाट ४१ करोड ९८ लाख रुपियाँ बराबरको ४४३ मेट्रिक टन कफी आयात भएको छ ।
यस्तै आव २०७९/८० मा १३ करोड चार लाख बराबरको ७७.८६ मेट्रिक टन कफी निर्यात हुँदा ३२ करोड ५८ लाख रुपियाँ बराबरको ४५० मेट्रिक टन आयात भएको थियो । निर्यातको तुलनामा आयात उच्च रहेको छ । कफीको खपत बढ्दै गए पनि आन्तरिक उत्पादनले बजार माग धान्न नसक्दा कफीको उत्पादन बढ्न नसक्दा आयातित कफीले बजार धानिरहेको तथ्याङ्कले देखाएको छ । साथै कफी पारखीले विभिन्न स्वादका कफी प्रयोग गर्ने हुँदा पनि आयात बढ्दै गएको देखिन्छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकभर चार हजार ३०९ हेक्टर क्षेत्रफलमा कफी खेती भई वार्षिक ५०१.३ मेट्रिक टन ग्रिनविन कफी उत्पादन हुने गरेको छ । ६५४ हेक्टरमा नयाँ रोपण भएको छ । मुलुकमा उत्पादित कफीको १७ प्रतिशत विदेशमा निर्यात हुने गरेको र बाँकी आन्तरिक बजारमा खपत हुने गरेको बोर्डको तथ्याङ्क छ ।
नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ । नेपाली कफी निर्यात गर्दा व्यवसायीले सरदर प्रतिकेजी १६ अमेरिकी डलर प्राप्त गर्दै आएका छन् ।
अन्तर्राष्ट्रिय कफी सङ्गठनको विशेष सहयोगमा बोर्डले सञ्चालन गरेको अनुगमन/निरीक्षणबाट पनि आन्तरिक बजारमा प्रत्येक वर्ष न्यूनतम दुई हजार दुई सय मेट्रिक टनभन्दा बढी कफी खपत भइरहेको र दिनप्रतिदिन माग पनि उच्च देखिएको छ ।
कफी क्षेत्रफलसँगै उत्पादनमा वृद्धि
बोर्डको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा कफी खेतीको क्षेत्रफल र उत्पादन दुवै बढ्दै गएको छ । बोर्डका अनुसार आव २०८०/८१ मा चार हजार ३०९ हेक्टर क्षेत्रफलमा ५०१.३ मेट्रिक टन, आव २०७९/८० मा तीन हजार ६५५ हेक्टर क्षेत्रफलमा ३९४.४ मेट्रिक टन, आव २०७८/७९ मा तीन हजार ३४३ हेक्टर क्षेत्रफलमा ३५४.९ मेट्रिक टन, आव २०७७/७८ मा तीन हजार ५२ हेक्टर क्षेत्रफलमा ३१४.५ मेट्रिक टन कफी उत्पादन भएको थियो ।
आव २०७६/७७ मा दुई हजार ३६० हेक्टर क्षेत्रफलमा उत्पादन भएको २९६.५ मेट्रिक टन कफी निर्यात भएको थियो । मुलुकमा ११ लाख ९८ हजार ५३५ हेक्टर क्षेत्रफलमा कफी खेतीको सम्भावना रहेको बताइएको छ । समुद्र सतहबाट आठ सयदेखि १६ सय मिटर उचाइको मध्यपहाडी भूभागमा कफी खेती विस्तार हुँदै गएको छ ।
यसैबिच २० औँ कफी दिवसको अवसरमा शुक्रबार आयोजित अन्तरक्रियामा सरोकारवालाले कफीको उत्पादन बढाएर निर्यात बढाउन जोड दिनुभएको थियो । सो अवसरमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले स्वदेशमै कफी विकासका लागि प्रशस्त ठाउँ रहेकाले खेती विस्तार गर्दै जानुपर्ने बताउनुभयो । मध्यपहाडी भेगमा बाँझो जमिन धेरै ठाउँमा रहेकाले खेती विस्तार गरेर आम्दानी गर्न सकिने भएकाले व्यक्तिगत र सामूहिक रूपमा खेती विस्तार गर्दै जानुपर्ने उहाँको भनाइ छ ।
कृषि सचिव गोविन्द शर्माले मुलुकमा कफीको सम्भावना राम्रो भए पनि जल उद्योगको कथा जस्तै भएको बताउनुभयो । कफीको क्षेत्रफल बढे पनि उत्पादन पर्याप्त मात्रामा बढ्न नसकेकाले उत्पादन बढाउनेतर्फ लाग्न व्यवसायीलाई आग्रह गर्नुभयो ।
बोर्डका उपनिर्देशक डा. लक्ष्मण पोखरेलले काठमाडौँ, पोखरालगायतका सहरमा कफी क्याफेहरूको विस्तार हुँदा आन्तरिक बजारमा कफीको माग बढ्दै गएको बताउनुभयो । आन्तरिक बजारमा वार्षिक पाँच हजार मेट्रिक टनभन्दा बढी कफीको माग रहेको र अन्तर्राष्ट्रिय बजारमा १४ हजार मेट्रिक टनभन्दा बढी माग रहेको उहाँको भनाइ छ । कफीको औसत उत्पादन प्रतिबोट प्रतिवर्ष तीनदेखि पाँच केजी फ्रेस चेरी उत्पादन हुने गरेको छ ।
नेपाल कफी महासङ्घका अध्यक्ष ओमनाथ अधिकारीले कफी खेतीको पर्याप्त सम्भावना रहे पनि गुणस्तरमा एकरूपता नहुनु, रोग किराको प्रकोप बढ्नु, मौसम प्रतिकूल हुनु, बढी उत्पादन दिने कफीका जात विकास नहुनु जस्ता समस्या रहेको बताउनुभयो । कफी दिवसका अवसरमा उत्कृष्ट कफी कृषक, कफी उद्योग र सहकारीलाई सम्मान गरिएको थियो ।