गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ८ गते । लगानीको वातावरण सिर्जना हुने गरी विश्व समुदायमा नेपालको साख बढेको छ । नेपालमा अर्थतन्त्रका सूचक राम्रो नरहेको र लगानीको वातावरण पनि उत्साहजनक नरहेको अड्कलबाजी भइरहँदा फिच रेटिङ लिमिटेडले गरेको नेपालको सार्वभौम साख निर्धारण (सोभरिन क्रेडिट रेटिङ) मा नेपालले ‘बिबी माइनस’ पाएको छ ।
नेपालले प्राप्त गरेको रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानीमैत्री र उन्नत रहेको सङ्केत गरेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नतिजाले नेपालको साख क्षमता उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सबल रहेको र अन्तर्राष्ट्रिय बजारबाट ऋण लिनु पर्दा न्यून ब्याजदरमा ऋण प्राप्त गर्न सक्ने अवस्था सिर्जना गरेको छ । यसले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न र वैदेशिक लगानी आकर्षित गर्नसमेत सहयोग पुग्ने छ ।
सार्वभौम क्रेडिट रेटिङमा मूलतः अर्थतन्त्रका चार क्षेत्रहरू, अर्थतन्त्रको संरचनगत पक्ष, समष्टिगत आर्थिक उपलब्धि, सार्वजनिक र बाह्य क्षेत्रका आर्थिक परिसूचकको विस्तृत रूपमा लेखाजोखा गरिएको हुन्छ । मुलुकको सार्वभौम क्रेडिट रेटिङ गर्दा यस्ता पक्षलाई विभिन्न सार्वभौम रेटिङ मोडल र गुणात्मक मापन विधिबाट स्वतन्त्र रूपमा मूल्याङ्कन गरी प्राप्त स्कोरलाई न्यूनतम ‘डी’ देखि अधिकतम ‘एएए’ सम्म रेटिङ प्रदान गर्ने गरिन्छ ।
रेटिङमा नेपालको आर्थिक संरचना, सार्वजनिक वित्तको अवस्था, आन्तरिक तथा वैदेशिक ऋणको अवस्था, मौद्रिक तथा वित्तीय क्षेत्रका सूचकको अवस्था, बाह्य क्षेत्रका आर्थिक परिसूचक, १६ औँ योजनाले परिलक्षित गरेका आर्थिक वृद्धिको मध्यकालीन तथा दीर्घकालीन खाकालगायतका विवरण र तथ्याङ्कको विश्लेषण गरिएको थियो ।
त्यसका साथै गुणात्मक मूल्याङ्कनको चरण अन्तर्गत नेपालको स्थलगत भ्रमण भई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैङ्कलगायतका सरकारी निकायका उच्च पदाधिकारीसँग अध्ययन टोलीको परामर्श र छलफल भएको थियो ।
साथै निजी क्षेत्र र नेपालस्थित द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार निकायका अधिकारीसँग समेत परामर्श गरिएको थियो । नेपालले प्रस्तुत गरेको पूर्वाधार विकासको मध्यकालीन र दीर्घकालीन योजनाको कार्यान्वयनको मूल्याङ्कन गर्न नमुनाका रूपमा नागढुङ्गा सुरुङमार्गको अवलोकनसमेत गरिएको थियो ।
साख निर्धारणको नतिजा आएपछि आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालमा लगानी गर्ने वातावरण सिर्जना भएको बताउनुभयो । उहाँले नेपालले सार्वभौम क्रेडिट रेटिङमा बिबी माइनस स्कोर प्राप्त गरेपछि नेपालमा लगानी गर्नका लागि उपयुक्त वातावरण बनेको उल्लेख गर्नुभयो ।
रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानीमैत्री र उन्नत रहेको सङ्केत गरेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “नतिजाले नेपालको साख क्षमता उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सबल रहेको र अन्तर्राष्ट्रिय बजारबाट ऋण लिनु पर्दा न्यून ब्याजदरमा ऋण प्राप्त गर्न सक्ने अवस्था सिर्जना गरेको छ ।”
नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भई नवीनतम एवं वैकल्पिक वित्तका स्रोत परिचालन गर्नुपर्ने अवस्थाको पूर्वतयारीका रूपमा समेत सार्वभौम साख निर्धारणलाई लिन सकिने अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले बताउनुभयो । सार्वभौम व्रmेडिट रेटिङलाई विश्वका लगानीकर्ता तथा वित्तीय सेवा प्रदान गर्ने निकायले कुनै पनि मुलुकको लगानीको वातावरण मूल्याङ्कनका आधारका रूपमा लिने मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।