• ७ मंसिर २०८१, शुक्रबार

खर्च जोहो गर्न पोखरामा राउटे समुदाय

blog

सन्तोष सुवेदी

कास्की, मङ्सिर ७ गते । कुनै बेला पैसा छोए पाप लाग्छ भन्ने मान्यता राख्ने राउटे समुदायहरु अहिले चाडपर्व मनाउनका लागि पैसा उठाउँदै हिँड्ने गरेका छन् । 

काठका सामग्री बेच्ने राउटेहरुकाे परम्परागत पेशा हाे । आफ्नाे पेशा सङ्कटमा परेसँगै जीवन धान्न मुश्किल भएपछि खर्चको जोहो गर्न अहिले ठाउँठाउँ पुग्ने गर्छन् राउटेहरु ।

मुखिया शेरबहादुर शाहीको नेतृत्वमा सात जनाको टोली  सुर्खेतबाट पोखरा आएका छन् । मङ्सिरमा मनाइने बडा तिहारका लागि खर्च जुटाउन पोखरा आएको उहाँहरुको भनाइ छ । ‘‘१० वर्ष पहिला पोखरा आएका थियाैं, फेरि आयौं । चाडपर्वको बेला खर्च जुटाउन आएका हाैं । हेरौं यहाँको साथ कस्तो पाइन्छ,’’ मुखिया शाहीले भन्नुभयो । उहाँले चाडपर्वको बेला सात आठ वटा खसी काट्ने लगायतको खर्च हुने हुँदा तीन चार लाख रुपियाँ आवश्यक भएको सुनाउनुभयो ।

यहाँ आएका राउटे समुदायले पोखरा महानगरपालिका र विभिन्न मन्त्रालयमा पुगेर सहयोगको याचना गरेका छन् ।

राउटे समुदाय नेपालको लोपोन्मुख आदिवासी समुदाय हुन् । राउटे समुदायको घर नहुने, डेरा हुने उहाँहरुको भनाइ छ । सुर्खेतमा उनीहरुको ४६ घरधुरी छ । त्यहाँ करिब २ सय राउटे छन् । 

पोखरा महानगरपालिकाले २१ हजार, अर्थ मन्त्रालयले १५ हजार, सामाजिक विकास मन्त्रालयले ७ हजार रुपियाँ र विभिन्न व्यक्तिले पनि सहयोग गरेका छन् । उठेको रकम महामुखियालाई बुझाएर सबैलाई समान रुपमा बाँड्ने शाहीले बताउनुभयो ।