प्रेम अधिकारी
पशुपतिनगर (इलाम), मङ्सिर ७ गते । इलामको पर्यटकीय क्षेत्र अन्तुमा कचहरी नाटक “लय प्रकृतिको” प्रदर्शन गरिएको छ । मण्डला थिएटरले कलाको माध्यमबाट नागरिकलाई प्राकृतिक विपत्तिबाट सजग गर्न सकिने उपायबारेमा कचहरी नाटक “लय प्रकृतिको” प्रदर्शन गरिएको हो ।
जलवायु परिवर्तन, बाढी पहिरो, आगलागी र भूकम्पजस्ता प्रकोपका नकारात्मक असरबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउने उपायबारे जानकारी दिंदै नाटक प्रदर्शन गरिएको छ । नाटक “लय प्रकृतिको“ प्राकृतिक विपत्तिसँग सम्बन्धित छ । नाटकमा मण्डलाका कलाकार सोमनाथ खनाल, उमेश तामाङ, सागर खाती, मिलन कार्की, रेनु योगी, वेदना राईलगायत चर्चित कलाकारको अभिनय थियो ।
नाटकमा जथाभाभी गरिने डोजरे विकासको असर, वन जङ्गलमा गरिने आगजनी, मापदण्ड पूरा नगरी निर्माण गरिने संरचनाका कारण भूकम्पीय असर आदि विषय समेटिएको छ । नाटक सम्पन्न भएपछि सूर्योदयका नगरप्रमुख रणबहादुर राईले नाटकले यथार्थ चित्रण गरेको बताउनुभयो । उहाँले यस्ता नाटकले समुदाय समेत भई प्राकृतिक विपत्ति रोक्न सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थीलगायत स्थानीयको उल्लेखीय सङ्ख्यामा उपस्थिति थियो । पछिल्लो समय नेपाली चलचित्र जगतका प्रसिद्ध कलाकार विजय बराल, बुद्धि तामाङ, प्रदीपकुमार चौधरी, नाजिर हुसेन लगायतका सुप्रसिद्ध कलाकारलाई मण्डला थिएटरमा देखिने गरिएको छ ।
मण्डला थिएटरले विश्व बैंक, युके एड, क्यानडा, युएसआइडीको सहयोग र सूर्योदय नगरपालिकाको सहजीकरणमा नाटक प्रदर्शन गरेकोे थियो । नाटकका निर्देशक सोमनाथ खनालले इलाम, ताप्लेजुङसहित देशका विभिन्न स्थानमा नाटक प्रदर्शन गरिने जानकारी दिनुभयो ।