• २१ पुस २०८१, आइतबार

सार्वजनिक जग्गा मिचेर चिया खेती, खाली गराउँदै नगरपालिका

blog

नगरपालिकाले सार्वजनिक जग्गा खाली गराउँदै । तस्बिर: विष्णु

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर ७ गते । झापाको एक चिया बगानले जबरजस्ती भोग चलन गर्दै आएको जमिन स्थानीय सरकारले खाली गराउन थालेको छ । झापाको मेचीनगर नगरपालिकाको विभिन्न वडामा नकलबन्दा चिया बगानले ओगटेको १० बिघाभन्दा बढी सरकारी जग्गामा नगरपालिकाले डोजर लगाएर सीमा कायम गर्दै खाली गराउन थालेको हो ।

मेचीनगर नगरपालिका वडा नं. ५, १२, १६ र १९ मा नकलबन्दा टी स्टेटले उपभोग गरेको १० बिघा ५ कट्ठा ७ धुर जग्गा नगरपालिकाले खाली गराउन सुरु गरेको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताउनुभएको छ । प्रारम्भिक चरणमा वडा नंं १२ बाट काम सुरु गरिएको उहाँले बताउनुभयो ।

बुढाथोकीका अनुसार मालपोत कार्यालय झापाले २०४८ असोज २५ गते छुट जग्गा निर्णयबाट दिनेशप्रसाद कानुको नाममा रहेको विभिन्न कित्ता नम्बरका १० बिघा ५ कट्ठा ७ धुर जग्गाहरू २०५५ असोज ११ गते नकलबन्दा टी स्टेटका नाममा बिक्री गरेको पाइएपछि यस विषयमा बारम्बार बहस उठ्दै आएको थियो ।

यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँमा उजुरी परेको थियो । नगरपालिकाका अनुसार २०६६ मङ्सिर २२ गतेको निर्णयबाट नकलबन्दा टी स्टेटको नाममा कायम भएको जग्गा नेपाल सरकारको रहेको निर्णय गरेको थियो । अख्तियारको दुरुपयोग गरी सरकारी जग्गा टी स्टेटको नाममा गएको अख्तियारको ठहर थियो ।

अख्तियारले सरकारको नाममा उक्त जग्गा कायम गर्न पत्राचार गरेपछि आफूहरूले टी स्टेटलाई उक्त जग्गा खाली गर्न पत्राचार गरे पनि अटेर गरेपछि डोजर लगाउनु परेको नगर प्रमुख बुढाथोकीले जानकारी दिनु भएको छ । हामीले गत असोजमा नै टी स्टेटलाई पत्राचार गरेका थियौ, उहाँले भन्नुभयो । अटेर गरेपछि बाध्य भएर डोजर लगाउनुपरेको हो, उहाँको भनाइ छ ।

सरकारी जग्गाको संरक्षण र रेखदेखको जिम्मा स्थानीय सरकारको भएकाले आफूहरूले यसमा चासो दिएको उहाँले बताउनुभएको छ । उहाँले सरकारी जग्गाहरूको खोजी गरेर संरक्षण गर्ने नीति अनुसार आफूहरूले यो काम सुरु गरेको बताउनुभयो । सरकारी जग्गाको संरक्षण र सुरक्षाको लागि हामी लागेका छौ, उहाँले भन्नुभयो ।