• ७ मंसिर २०८१, शुक्रबार

सत्र प्रतिशतले बढ्यो राजस्व

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ७ गते । चालु आर्थिक वर्ष (२०८१/८२) को चार महिनामा राजस्व सङ्कलन गत आवको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा प्रस्तुत गरिएको विवरण अनुसार गत वर्ष यही अवधिमा दुई खर्ब ७६ अर्ब राजस्व सङ्कलन भएको थियो । चालु आवको चार महिनामा तीन खर्ब २३ अर्ब २४ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ ।

पाँच वर्षको राजस्व परिचालनको तुलनात्मक अवस्था हेर्दा आव २०७६/७७ मा ११ खर्ब १२ अर्ब तीन करोड रुपियाँ लक्ष्य रहेकोमा ७१.३८ प्रतिशत प्रगति भएको थियो । त्यसै गरी आव २०७७/७८ मा १० खर्ब ११ अर्ब ७६ करोड रुपियाँ लक्ष्य रहेकोमा ९२.५० प्रतिशत प्रगति हासिल भएको थियो । आव २०७८/७९ मा ११ खर्ब ८० अर्ब ६० करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य रहेकोमा ९०.२४ प्रतिशत प्रगति हासिल भएको थियो ।


त्यसै गरी आव २०७९/८० मा १४ खर्ब तीन अर्ब १५ करोड राजस्व सङ्कलनको लक्ष्य रहेकामा ६८.२३ प्रतिशत र आव २०८०र८१ मा १४ खर्ब २२ अर्ब ५४ करोड राजस्व सङ्कलनको लक्ष्य रहेकामा ७४.५४ प्रगति भएको थियो । आव २०८१/८२ को वार्षिक राजस्व सङ्कलनको लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रहेको छ । यो लक्ष्य भनेको गत आवको यथार्थ असुलीको तुलनामा करिब ३४ प्रतिशत रहेको अर्थ मन्त्रालयले जनाएको छ । 

यसैमध्ये चालु आवको प्रथम चार महिना साउन–कात्तिकमा चार खर्ब छ अर्ब ३७ करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा तीन खर्ब २३ अर्ब २४ करोड रुपियाँ अर्थात् लक्ष्यको करिब ८० प्रतिशत राजस्व सङ्कलन भएको छ । यो गत वर्षको यसै अवधिको राजस्व सङ्कलनको तुलनामा १६.८५ प्रतिशतले बढी हो ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत र खर्च व्यवस्थापन महत्वपूर्ण रहेको उल्लेख गर्दै करको दायरा विस्तार, बक्यौता असुली, कर प्रशासनको प्रभावकारिता, कर्मचारीको आचरण, अन्तरमन्त्रालय समन्वय, भन्सार विन्दुभन्दा बाहिरका गतिविधि, कर प्रशासनमा सिर्जना गर्न खोजिएका चुनौतीलगायतका पक्षलाई ध्यान दिएर अघि बढ्न आवश्यक भएको बताउनुभयो । 

अर्थमन्त्री पौडेलले कर सङ्कलनको सिस्टम ब्रेक गर्न खोज्नेलाई कानुनबमोजिम हदैसम्मको कारबाही गर्नसमेत निर्देशन दिनुभयो ।

अर्थ सचिव डा. रामप्रसाद घिमिरेले राजस्वको लक्ष्य पूरा गर्ने गरी अघि बढ्ने बताउँदै राजस्व सङ्कलन रणनीति कार्यान्वयनमा जोड दिनुभयो ।

त्यसै गरी राजस्व सचिव दिनेशकुमार घिमिरेले राजस्वको लक्ष्यलाई ध्यान दिएर थप मेहनत गरी अघि बढ्ने बताउनुभयो ।

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले विगतको तुलनामा राजस्व सङ्कलन वृद्धि भए पनि चालु आवको लक्ष्य पूरा गर्न कर प्रशासनसँग सम्बन्धित सबै पक्षबिच समन्वय तथा सहयोग जरुरी रहेको र त्यसलाई मन्त्रालयले प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।

भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनी र आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले राजस्व सङ्कलनका क्षेत्रमा देखा परेका अवसर र कमजोरीलाई ख्याल गर्दै राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न आफूहरूले सक्दो पहल गरिरहेको बताउनुभएको थियो ।