सिराज खान
नेपालगन्ज, मङ्सिर ७ गते । कुष्ठरोगको उपचारमा सक्रिय बाँकेको जानकी गाउँपालिका–३ मानपुरमा रहेको साइनिङ अस्पतालले आर्थिक वर्ष २०८०-०८१ मा १७ हजारभन्दा बढीलाई ओपिडी सेवा दिएको छ ।
आइएनएफ नेपालद्वारा सञ्चालित उक्त अस्पतालबाट एक वर्षको अवधिमा १७ हजार २६५ जनाले ओपिडी सेवा लिएको अस्पताल प्रमुख मङ्गल थारुले जानकारी दिनुभयो । उहाँका अनुसार सो क्रममा छालासम्बन्धी १४ हजार २९७ जनाले सेवा लिएका थिए भने २ हजार ९६८ जना कुष्ठरोगीका बिरामीले सेवा लिएका थिए । यो अस्पतालमा छाला र कुष्ठरोगका बिरामीले सेवा लिने गरेका छन् ।
सो अस्पतालमा १२२ जना कुष्ठरोगका बिरामी भर्ना भएका थिए । त्यहाँ कुष्ठरोगका बिरामीहरूको निःशुल्क उपचार हुने गरेको छ । कुष्ठरोगको जटिलताको अवस्था हेरेर अस्पतालमै भर्ना गरेर उपचार गर्ने गरिएको प्रमुख थारुले जानकारी दिनुभयो । "हामीले कुष्ठरोगी सबैको निःशुल्क उपचार गर्दै आएका छौँ," उहाँले भन्नुभयो, "जटिल प्रकारका बिरामीहरूलाई एकदेखि डेढ महिनासम्म अस्पतालमै भर्ना गरेर निःशुल्क उपचार गरेर पठाउने गरेका छौँ ।"
साइनिङ अस्पतालले आर्थिक वर्ष २०८०-०८१ मा १४६ जना कुष्ठरोगीको रोग निदान गरेको छ । ती मध्ये बाँकेका ८४, बर्दियाका २४, भारतका २१, सुदूरपश्चिमका ५ जना र १२ जना अन्य जिल्लाका बिरामी छन् ।
अघिल्लो आर्थिक वर्ष २०७९-०८० मा सो अस्पतालमा १२६ जना रोगीको रोग निदान भएको थियो । यो त्यसको अघिल्लो आर्थिक वर्ष भन्दा २० जनाले बढी हो । २४ शय्याको सो अस्पतालले ओपिडी, अन्तरङ्ग, ल्याब्रोटरी, फार्मेसीलगायतको सेवा दिँदै आएको छ । गएको आर्थिक वर्ष कुष्ठरोग निदानका लागि छालाको स्मेर जाँच सेवा ८३८ जनाले लिएका थिए भने १२ हजार १६९ जनाको ल्याब टेस्ट गरिएको थियो ।
बाँके, बर्दिया, कैलाली, कञ्चनपुर तथा भारतबाट बिरामीहरू उपचारका लागि सो अस्पतालमा आउने गरेको प्रमुख थारुले बताउनुभयो । बाँके लगायत पश्चिम नेपालका विभिन्न जिल्लामा कुष्ठरोगको जोखिम अहिले पनि कायमै रहेको उहाँले बताउनुभयो ।
बाँके जिल्लाको खजुरा, डुडुवा, नरैनापुर र नेपालगन्जमा कुष्ठरोगका केसहरू बढी देखिएको उहाँको भनाइ छ । बिरामी समयमै उपचार गर्न नआउँदा उपचारको समय पनि लम्बिने र बिरामीले समेत दुःख पाउने गरेको उहाँले सुनाउनुभयो । दातृ निकायबाट आउने अनुदान घटबढ हुँदा अस्पताललाई चुनौती रहेको उहाँको भनाइ छ ।
सरकारले समेत कुष्ठरोगी बिरामीलाई यातायात खर्च बापत दिँदै आएको एक हजार रुपियाँ यो वर्ष बजेट अभावले गर्दा कटौती गरेको छ । कम्तीमा उपचार गरेर घर फर्किदा यातायात खर्च नियमित हुनुपर्नेमा प्रमुख थारुको जोड छ । यस्तै स्वास्थ्य चौकीहरुमा पाउनुपर्ने कुष्ठरोगको औषधि नियमित नहुँदा बिरामीहरूले अनावश्यक दुःख पाउनुपरेको गुनासो बिरामीले सुनाउने गरेका छन् ।