• ७ मंसिर २०८१, शुक्रबार

कृषिलाई व्यावसायिक बनाउने रणनीति

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ७ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिलाई समयानुकूल परिमार्जन गर्न जरुरी रहेको बताउनुभएको छ ।

कृषि विकास रणनीति कार्यान्वयन समीक्षा र परिमार्जनका लागि बिहीबार राजधानीमा आयोजित अन्तरक्रियामा मन्त्री अधिकारीले मुलुक सङ्घीयतामा जानुअघि लागु गरिएको रणनीतिलाई सङ्घीयता अनुकूल परिमार्जन गरिनुपर्ने बताउनुभयो । 

जीविकोपार्जनका लागि कृषिकर्म गर्नेलाई पनि व्यावसायिक कृषिमा ल्याउन सक्ने गरी कृषि विकासको रणनीति परिमार्जन गर्न आवश्यक रहेकोमा मन्त्री अधिकारीले जोड दिनुभयो । “सङ्घीयता लागु भइसकेपछि कृषिको प्राविधिक क्षमता विकास हुनुपर्ने अपेक्षा थियो तर किसानले आवश्यकतामा समयमै कृषि प्राविधिक पाउन सकिरहेका छैनन्,” मन्त्री अधिकारीले भन्नुभयो ।  

कृषि क्षेत्रमा बजेट धेरै देखिए पनि अनुदान र मल खरिदमा खर्च हुने गरेकाले कृषिको समग्र विकासका लागि कृषि क्षेत्रमा थप बजेटको आवश्यकता उहाँले औँल्याउनुभयो ।

विसं २०७२ देखि लागु भएको कृषि विकास रणनीति हाल परिमार्जनको चरणमा रहेको छ । रणनीति परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालाबिच छलफल गरी सुझाव लिइएको छ । पूर्वसचिव गणेशराज जोशीको संयोजकत्वमा रणनीति परिमार्जनका लागि विज्ञ समूहले कार्य गरेको छ ।