• ७ मंसिर २०८१, शुक्रबार

जिल्ला प्रशासन कार्यालयमा सेवा विस्तार

blog

बोमलाल गिरी

नवलपुर, मङ्सिर ६ गते । जिल्ला प्रशासन कार्यालय नवलपुरले आफ्नो सेवा सहज, प्रभावकारी र नागरिकमैत्री बनाउन नयाँ सुविधाहरू थप गरेको जनाएको छ । सेवाग्राहीहरूको आवश्यकतालाई ध्यानमा राख्दै कार्यालयले सेवा सुविधा विस्तार गरेको जनाएको हो । 

जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरूले अबदेखि डिजिटल सेवा उपयोग गर्न सहज होस् भनेर निःशुल्क बाइफाई सेवा उपलब्ध गराइएको छ । यसले नागरिकलाई अनलाइन फारम भर्न, सूचना प्राप्त गर्न र अन्य डिजिटल काम गर्न समेत सहज हुने प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताउनुभयो ।

कार्यालयले सेवाग्राहीको लागि शुद्ध खाने पानीको पनि व्यवस्था गर्दै स्वच्छता र नागरिक स्वास्थ्यलाई प्राथमिकता दिएको जनाएको छ । त्यस्तै सेवाग्राहीको सुविधाको लागि विश्राम गृह र मोबाइल चार्जिङ स्टेसनको पनि व्यवस्था गरिएको प्रजिअ पोख्रेलले बताउनुभयो । यसले लामो समयसम्म पर्खनु पर्ने सेवाग्राहीहरूको मोबाइल चार्जिङसम्बन्धी समस्या समाधान गर्न मद्दत पुर्याउने छ ।

जिल्ला प्रशासन कार्यालयले सेवा विस्तार गरेको प्रति सेवाग्राहीहरूले खुसी व्यक्त गरेका छन् । विनयी त्रिवेणी गाउँपालिका ६ का मनोज थापाले भन्नुभयो, ‘पहिले कतिपय काम गर्दा समय लाग्थ्यो, तर अहिले विश्राम गुह, बाइफाई, पानी र चार्जिङ स्टेसन र टेलिभिजनको समेत सुविधा उपलब्ध हुँदा काम गर्न सजिलो भएको छ ।

बौदीकाली ४ बाट छोरीको नागरिकता बनाउन आउनुभएका महाशरूप सारू मगरले नागरिकता बनाउन लामो समयसम्म उभिनु पर्नेमा अहिले बस्न पाइएको प्रतिक्रिया दिनुभयो । कावासोती ६ का कोशुराम सुनारले सेवाग्राहीको लागि जिल्ला प्रशासन कार्यालय नवलपुरले दिएको सुविधा प्रति खुसी व्यक्त गर्नुभयो । 

प्रमुख जिल्ला अधिकारी पोख्रेलले सेवा प्रवाहलाई थप आधुनिक, सहज र नागरिकमैत्री बनाउने अभियानअन्तर्गत सुविधा थप गरिएको बताउनुभयो । आगामी दिनमा अन्य आवश्यक सेवाहरू थप गर्दै लैजाने योजना रहेको पोख्रेलको भनाइ छ ।