• ७ मंसिर २०८१, शुक्रबार

दुर्घटना रोक्न रिफ्लेक्टिभ स्टिकर

blog

ट्राफिक प्रहरीले ट्याक्टरमा रिफ्लेक्टिभ स्टिकर टाँस्दै । तस्बिरः मीना कंडेल

मीना कंडेल

कावासोती, मङ्सिर ६ गते । नवलपुर ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टीभ स्टीकर टाँस्ने अभियान सञ्चालन गरेको छ । चिसो मौसम सुरु भएसँगैं बढ्दो हुस्सु र रातिको बेला भिजीबिलीटी कम भएकाले सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले रिफ्लेक्टीभ स्टीकर टाँस्ने अभियान सञ्चालन गरेको हो ।

टाढैबाट टल्किने स्टीकर देख्न सकिन्छ जसले दुर्घटनामा कमी ल्याउन सकिन्छ भन्दै यो अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । रातिको समयमा स्टीकर नहुँदा यातायातका साधनहरु ठोक्किन गई दुर्घटना हुने भएकोले प्रहरीले सबै सवारी साधनमा स्टीकर टाँस्नसमेत आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय नवलपुरले विभिन्न स्थानमा ब्याकलाइट नहुने सवारीसाधनको पछाडिको भागमा टल्किने रिफ्लेक्टिभ स्टिकर टाँसेका हुन् । सुरुमा १२ ट्याक्टरमा रिफ्लेक्टिभ स्टिकर टाँस गरिएको छ । 

सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले लामो तथा छोटो दूरीका सवारी, ट्याक्टर र अटो रिक्सालगायतका सवारीसाधनमा स्टिकर टाँस्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख जनकराज बन्जराले बताउनुभयो । नियमित काम र अभियानसँगै कार्यालयले रिफ्लेक्टिभ स्टिकर टाँस्ने कार्य, बढी दुर्घटना हुने स्थानको पहिचान गरी न्यूनीकरणका उपाय, ट्राफिक लाइट सचेतना र लेन अनुशासन तथा डिभाइडर राख्ने कामलाई पनि निरन्तरता दिँदैआएको प्रमुख बन्जराको भनाइ छ ।

नवलपुरमा आर्थिक वर्ष २०८१–८२ को चार महिनामा ३९ सवारी दुर्घटनामा परेका छन् । यसबाट १३ जनाले ज्यान गुमाएका छन् भने २८ जना गम्भीर घाइते भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी ३७ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

यस्तै, कार्यालयले चालकलाई आफू बँचौं र अरुलाई बचाउँ भन्ने अभियानअन्तर्गत मोटरसाइकल चालकलाई समेत सवारी चलाउँदा ध्यानदिनु पर्ने कुराहरु, सवारी दुर्घटनाबाट बच्ने उपाय, ट्राफिक नियमसम्बन्धी फिल्डमै प्रशिक्षण दिँदै आएका छन् । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीले नवलपुरमा दुर्घटना न्यूनीकरणका लागि विभिन्न अभियानहरु चलाएको छ । 

साउनदेखि कात्तिकसम्म एक हजार ३८ वटा सचेनताका कार्यक्रम सञ्चालन गरिएको ट्राफिक प्रमुख बन्जराले बताउनुभयो । विद्यार्थी, सवारी चालक, सहचालक, पैदल यात्रु, यात्री लगायत सर्वसाधारण गरी ४८ हजार ६३३ जना लाभान्वित भएको जनाइएको छ ।