• ७ मंसिर २०८१, शुक्रबार

जिल्ला प्रशासनको सुविधायुक्त भवन तयार

blog

सर्लाही समाचारदाता

सर्लाही, मङ्सिर ६ गते । सदरमुकाम मलङ्गवामा जिल्ला प्रशासन कार्यालयको भवन तयार भएको छ । पहिले कार्यालय रहकै स्थानमा सुविधा सम्पन्न साढे तीन तले भवनको निर्माण पूरा हुन लागेको हो । केही समयभित्रै औपचारिक उद्घाटन गरेर भवन प्रयोगमा ल्याउने तयारी रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । 

यसअघिको भवन अत्यन्त जीर्ण र साँघुरो भएपछि जिल्ला प्रशासन कार्यालयको सुविधा सम्पन्न नयाँ भवन तयार गरिएको हो । भवन निर्माण नहुञ्जेलसम्म जिल्ला प्रशासन कार्यालय प्राविधिक कार्यालयको भवनबाट सञ्चालनमा रहेको छ । 

नयाँ निर्माण भएको जिल्ला प्रशासन कार्यालयको भवनबाट केही महिनाअघिदेखि नै राष्ट्रिय परिचयपत्रको काम हुँदै आएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भवन तयार हुनै लागेकाले अब कार्यालयको सम्पूर्ण सेवा यहीँबाट सञ्चालनको तयारी भइरहेको जानकारी दिनुभयो । 

यसअघि अत्यन्त साँघुरो र जीर्ण भवनबाट सेवा प्रवाह गर्दा कर्मचारी र सेवाग्राही दुवैलाई अप्ठेरो परिरहेको अवस्थामा अब सुविधायुक्त पर्याप्त कोठा रहेका साढे तीन तले भवन निर्माण भएसँगै सेवा प्रदानमा सहजता हुने प्रमुख जिल्ला अधिकारीले विश्वास व्यक्त गर्नुभयो । कार्यालयले ठेकेदारलाई केही समय म्याद थप गरेर भवन निर्माणको काम पूरा गराएको हो ।