• ७ मंसिर २०८१, शुक्रबार

श्रम स्वीकृति लिने बढे

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, मङ्सिर ६ गते । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आव २०८०/८१ को चार महिनाको तुलनामा चालु आवको सो अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या झन्डै १५ प्रतिशतले बढेको हो । 

विभागका अनुसार चालु आवको चार महिनामा वैदेशिक रोजगारीका लागि दुई लाख ४१ हजार ५८३ जनाले श्रम स्वीकृति लिएकामा गत आवको सो अवधिमा दुई लाख छ हजार ३१६ जनाले श्रम स्वीकृति लिएर विदेश गएका थिए । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या गत आवको सङ्ख्याभन्दा यो आवको ३५ हजार २६७ जना (१४.५९ प्रतिशत) ले बढी हो । 

चालु आवको कात्तिकमा सबैभन्दा बढी ७० हजार ९९० जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । गत आवको कात्तिकमा भने ५६ हजार २३५ जनाले श्रम स्वीकृति लिएका थिए । गत आवको सो अवधिमा भने सबैभन्दा बढी साउनमा ५६ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका थिए । 

विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीले चालु आवको कात्तिकमा सबैभन्दा धेरै श्रम स्वीकृति जारी भएको जानकारी दिनुभयो । पछिल्लो समय विश्वव्यापी आर्थिक मन्दीका कारण श्रम गन्तव्य देशमा रोजगारीका क्षेत्रमा सङ्कुचन आए पनि रोजगारीका लागि जानेको सङ्ख्या बढेको देखिन्छ । चालु आवको साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३ र असोजमा ५३ हजार ५२५ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

मलेसिया जाने नेपाली श्रमिकको सङ्ख्या घटे पनि गत आवदेखि नै संयुक्त अरब इमिरेट्स (युएई), कतार र साउदी अरब जाने बढेसँगै श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको हो । नेपालीका दसैँतिहार जस्ता ठुला चाडपर्व मनाउन नेपाल आएर फर्किने बढेकाले पनि कात्तिकमा अघिल्ला महिनाको भन्दा सङ्ख्या बढेको विभागका निर्देशक सुवेदीले बताउनुभयो । उहाँका अनुसार दसैँतिहार र छठ मनाएर फर्किने धेरै भएकाले नेपाली श्रमिकको सङ्ख्या मङ्सिरमा पनि कात्तिककै हारहारीमा हुने अनुमान छ । 

आव २०७८/७९ बाट लयमा फर्किएको वैदेशिक रोजगारी चालु आवमा पनि उच्च देखिने सङ्केत छ । कोरोना कालको बन्दाबन्दीयता आन्तरिक रोजगारीमा सङ्कुचन आएपछि विगत दुई वर्षयता वैदेशिक रोजगारीमा जानेको सङ्ख्याले उच्च रेकर्ड कायम गर्दै आएको छ । 

वैदेशिक रोजगारीको ३० वर्षको इतिहासमा अघिल्लो र गत आवमा सबैभन्दा बढी युवा रोजगारी खोज्दै विदेश गएका थिए । गत वर्षको चार महिनाको सङ्ख्यालाई तुलना गर्दा चालु आवमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्ने देखिएको हो । 

सरकारले श्रम स्वीकृति लिएर विदेश जान अनुमति दिएको तथ्याङ्क राख्न थालेको ३० वर्षमध्ये आव २०७९/८० मा सात लाख ७१ हजार ३२७ युवाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि अनुमति लिएका थिए । 

आव २०८०/८१ मा भने सात लाख ४१ हजार १३० युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यस्तै आव २०७८/७९ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या छ लाख ३० हजार ९० थियो ।