• ८ पुस २०८१, सोमबार

सर्ने भयो असुरक्षित डिपो, डिपिआर बनाउन सम्झौता

blog

सम्झौतापत्रमा हस्ताक्षर गर्नुहुँदै डिपो प्रमुख प्रदीप यादव (दायाँ) र इन्जिनियरिङ अध्ययन संस्थानका सहप्राध्यापक नारायण गौतम (बायाँ) । तस्बिर : विकास द्वारे

काठमाडौँ, मङ्सिर ६ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन उपलब्ध गराउँदै आएको सिनामङ्गलस्थित असुरक्षित डिपो अन्ततः सर्ने भएको छ । त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न नेपाल आयल निगम हवाई इन्धन डिपो कार्यालय सिनामङ्गल र त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (कन्सल्टेन्सी) पुल्चोकबिच सम्झौता भएको छ । 

हवाई इन्धन डिपो कार्यालयका प्रमुख प्रदीपकुमार यादव र त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका सहप्राध्यापक नारायण गौतमले बुधबार आयोजित कार्यक्रममा हस्ताक्षर गर्नुभयो । एक करोड ९८ लाख ८४ हजार रुपियाँको लागतमा छ महिनाभित्र डिपिआर तयार पारिने गरी सम्झौतामा भएको हो । 

५० वर्षअघि निर्माण भएको डिपो विमानस्थल र काठमाडौँ उपत्यकाको सहरी क्षेत्रसमेतका लागि सुरक्षाका दृष्टिले उच्च जोखिम हुँदा अन्यन्त्र स्थानान्तरण गर्न लागिएको हो । डिपो सार्न मन्त्रीपरिषद्ले पनि निर्देशन दिएको थियो । डिपो कार्यालयका प्रमुख प्रदीपकुमार यादवले डिपिआर प्रक्रिया सकिएलगत्तै बजेटको व्यवस्थापन गरी निर्माणका लागि टेन्डर प्रक्रिया अघि बढाइने बताउनुभयो । 

डिपो सार्दा अब अत्याधुनिक प्रविधि जडान गर्ने र त्यसले सेवा प्रदान गर्नसमेत सहज हुने उहाँको भनाइ छ । हाल रहेको डिपो ५० वर्ष पुरानो रहेकाले पनि नयाँ बन्ने डिपो भने अत्याधुनिक प्रविधियुक्त बनाइने कार्यालयले जनाएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को गुरुयोजना अनुरूप गुह्येश्वरीमा रहेको ७० रोपनी जग्गामा डिपो सार्न उपयुक्त देखाएको छ । विमानस्थलको उत्तरतर्फ नेपाली सेनाको गल्फ कोर्सनजिकै गुह्येश्वरीमा डिपो स्थानान्तरण गरिने भएको हो । कार्यालयले डिपोको निर्माण २०८४ मङ्सिरभित्र सक्ने लक्ष्य राखिएको जनाएको छ । डिपो स्थानान्तरण गर्न छ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका सहप्राध्यापक गौतमले तोकिएको समयमै डिपिआर तयार गरिने जानकारी दिनुुभयो । मन्त्रीपरिषद्को गत साउन २८ गते बसेको बैठकले डिपोलाई विमानस्थलको सुरक्षाका लागि सुरक्षित र सुविधायुक्त स्थानमा स्थानान्तरण गर्ने निर्णय भएको थियो । विमानस्थलसँगै दक्षिणी क्षेत्रमा रहेको उक्त डिपोका कारण विमानस्थल र जहाजसमेत उच्च जोखिममा रहेकाले अन्यन्त्र सार्न लागिएको हो । 

गत साउनमा सौर्य एयरको जहाज अहिले भएको डिपोको ठिकविपरीत पूर्वी क्षेत्रमा खसेर दुर्घटना भएको थियो । कार्यालयका अनुसार विश्वमा सबैभन्दा बढी विमानस्थलको रनवे (एयरपोर्ट) निर्माण गरेको जर्मनीको हंसा कन्सल्टेन्टले समेत त्रिभुवन विमानस्थलको रनवेसँगै टाँसिएको यो डिपोका कारण विमानस्थल उच्च जोखिममा रहेको जनाएको छ ।