• ७ मंसिर २०८१, शुक्रबार

विराटनगर किङ्सको जर्सी सार्वजनिक

blog

जर्सी सार्वजनिक गरिँदै । तस्बिर : गोरखापत्र

हरिप्रसाद कोइराला

उर्लाबारी, मङ्सिर ५ गते । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किङ्सले मङ्गलबार अपराह्न विराटनगरमा आधिकारिक जर्सी सार्वजनिक गरेको छ ।

विराटनगर किंग्सका खेलाडी सन्दीप लामिछानेले जर्सी सार्वजनिक गर्नुभएको हो । जर्सी सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि रहनुभएका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  एनपीएलमा विराटनगर किंग्सलाई उच्च मनोबलका साथ खेल खेल्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै सन्दीप लामिछानेले खेलप्रति दर्शकको माया र साथले ट्रफि जितेर ल्याउने बताउनुभयो । विराटनगर किङ्स कोशी प्रदेशको प्रतिनिधित्व गर्दै एनपीएलमा सहभागी हुन लागेको हो । 

विराटनगर किङ्सका लगानीकर्ता पारस लुनियाले क्रिकेट क्षेत्रको विकासमा सबैको साझा प्रयास आवश्यक हुने बताउनुभयो । उहाँले खेलपनि उद्योग भएको बताउँदै जति बढी लगानी भयो उत्ति बढी प्रतिफल प्राप्त हुने उल्लेख गर्नुभयो । कार्यक्रममा विराटनगर महानगरपालिका नगरप्रमुख नागेश कोइरालाले एनपीएलमा विराटनगरको नाम र इज्जत रहने गरी खेल खेल्न खेलाडीलाई आग्रह गर्नुभयो । 

जर्सी सार्वजनिक कार्यक्रममा विराटनगर किङ्सका खेलाडीहरू लोकेस चन्द, दीपक बोहोरा, सुवास भण्डारी, विनोद गुरुङ, प्रतिस जिसी लगायतको उपस्थिति थियो । सोही अवसरमा विराटनगरले यु–१९ महिला क्रिकेट टोलीका प्रशिक्षक महेशप्रसाद रिजाललाई सम्मान गरेको थियो ।