• ७ मंसिर २०८१, शुक्रबार

जाडो छल्न आइपुगे आगन्तुक चरा

blog

नारायणी नदी आसपासमा जाडो छल्न आएका चरा । तस्बिर : चन्द्रा महत्तो

मीना कँडेल

कावासोती, मङ्सिर ५ गते । नवलपुरको नारायणी नदी आसपासका क्षेत्रमा यति बेला जाडो छल्नका लागि विभिन्न किसिमका चरा आइपुगेका छन् । मङ्सिर लागेसँगै खोया हाँस, कर्‍य ाङकुरूङ, जलेवा, सिंन्दुरे हाँस लगायतका पाहुना चराहरू नवलपुरका सिमसार र नदी आसपास आइपुगेको संरक्षणकर्मीले बताएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जको उत्तर भएर बग्ने नारायणी नदीमा चखेवाका जोडीहरू देखिन थालेको  नेचर गाइड चन्द्रा महत्तोले बताउनुभयो । नारायणी नदीमा रैथाने, जाडो महिना, गर्मी महिना र क्षेत्र पास गर्न पाँच प्रकारबाट देखिने गरेका छन् । विशेष गरी पानीमा रहने चराहरू यहाँ बसाइँसराई गरी आउने गरेका छन् । साइबेरिया, चीन, बर्मा, मंगोलिया, रुस ,कोरिया, थाइल्याण्डलगायतका देशबाट आगन्तुक चराहरू यतिबेला यस क्षेत्रमा आउने गरेको नेचर गाइड महत्तोले बताउनुभयो ।

आन्तरिक रुपमा समेत देशका विभिन्न स्थानबाट बसाइँसराइ गरी चराहरू यस क्षेत्रमा आउने क्रममा यो पनि आएकोे नेचर गाइड मानबहादुर चौधरीले बताउनुभयो । यहाँ आउने चराहरूमा हाँस प्रजातिका चरा , जलेवालगायत विभिन्न प्रजातिका चरा हुने गरेको उहाँको भनाइ छ ।

सेप्टेम्बर महिनादेखि डिसेम्बरसम्म चराहरू आउने र फेब्रुअरीदेखि गर्मी बढ्न थालेपछि आफ्नो पुरानो वासस्थानमा फर्किन सुरु गर्ने उहाँले बताउनुभयो । अप्रिलसम्ममा जाडोमा आएका सबै चरा पुनः जहाँबाट आएको हो त्यही देश फर्किने उहाँले बताउनुभयो । नारायणी नदी, नवलपुरसहित चितवन राष्ट्रिय निकुञ्जका सिमसार क्षेत्रमा अहिले आगन्तुक चराहरु सहजै देख्न सकिने नेचर गाइड चौधरीले बताउनुभयो ।

झण्डै ९ हजार मिटर उचाइसम्मको उडान भर्न सक्ने खोया हाँस नारायणी र रापती नदीमा विचरण गर्न आउने तथा रातको समयमा बस्ती छेउका धान खेतसम्म पुग्ने गरेको संरक्षणकर्मी डिबी चौधरीले बताउनुभयो । नवलपुर क्षेत्रमा जलपक्षी देखिन थालेसँगै चरा, गोही तथा वन्यजन्तुको अवलोकनका लागि जङ्गल सफारी तथा डुङ्गा सय र गर्ने विदेशी पाहुनाको संख्या पनि बढन थालेका छन् ।

विशेषगरी यहाँ देखिने ठूला जलेवाका बथान पनि नारायणी नदीमा आइसकेको र ठूलो सङ्ख्यामा रहने जलेवाका झुण्ड एकसाथ आहारका लागि नदी छिर्दा अत्तालिएका माछा छोप्न हाँस, बकुल्लाको तैनाथी दृश्य रोमाञ्चक हुने गर्दछ । अन्य चराहरूमा सिंदुरे हाँस, कैलो टाउके हाँस, अलकचन्द्र राजपुत्रिका,वनसु सुडिया,बैकाल गैरी र ठूलो जलरङ्ग आदि रहेका यसै गरी कलहाँस, सिउरे डुबुल्की चरा ,श्वेतमाछा, कलहाँस, सिमकुखुरा, ध्वाँसे सिम कुखुरा, हलिमुखे,जुरे हुटिट्याउँ र कालीजुरे हाँस देखिने गरेका छन् ।  

जाडो मौसममा यहाँ विभिन्न प्रजातिका चराहरूको उपस्थिति बाक्लो हुने गरेकाले चरा गणनाको कार्यक्रम गर्ने गरिएको छ । नारायणी नदी र आसपासका क्षेत्रमा गत वर्ष ४१ प्रजातिका चरा भेटियको संयोजक चौधरीले बताउनुभयो ।