• ७ मंसिर २०८१, शुक्रबार

अग्निपीडितले घर बनाए, राहत पाएनन्

blog

इस्मामा अग्निपीडितले निर्माण गरेको घर । तस्बिरः तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, मङ्सिर ५ गते । गुल्मीका अग्निपीडितले घर बनाएर सम्पन्न गर्दा पनि राहत पाउन सकेका छैनन् । इस्मा गाउँपालिकाको –२ सिदुङखामा गत वैशाख ८ गते सामुदायिक वनबाट लागेको आगो बस्तीमा पस्दा २६ घरगोठ जलेर नष्ट भएका थिए । 

सिदुङखासहित इस्मा गाउँपालिकामा ४९ घरगोठ जलेर नष्ट भएको इस्मा गाउँपालिकाले जनाएको छ । अग्निपीडितले आवास निर्माणको काम सम्पन्न गरे पनि इस्मा गाउँपालिकाबाट प्रदान गरिने एक लाख रुपियाँबाहेक पीडितले अन्य रकम पाउन सकेका छैनन् । 

पीडितले प्रदेश र सङ्घबाट पाउनुपर्ने चार लाख रुपियाँ नपाउँदा थप पीडा हुने गरेको सिदुङखाकी अग्निपीडित मीना रायमाझीले गुनासो गर्नुभयो । घर निर्माण गर्दा ल्याएको सामान र कामदारले पैसा मागेर सताउने गरेको बताउँदै उहाँले पीडामाथि पीडा थपिएको बताउनुभयो । 

सरकारले बनाएको मापदण्डअनुसार घर निर्माण गरे पनि प्राप्त हुने रकम उपलब्ध हुन नसक्नु दुःखद पक्ष भएको बसुन्धरा कुँवरले बताउनुभयो । इस्मा गाउँपालिकाले  पीडितलाई एक लाख रुपियाँ प्रदान गरेको गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले जानकारी दिनुभयो । प्रदेश र सङघबाट प्राप्त हुने रकम अग्निपीडितले नपाएको खड्काले बताउनुभयो ।   

यता, नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले पीडितले समयमै रकम प्राप्त गर्न नसक्नु दुःखद पक्ष भएको बताउनुभयो । पीडितलाई थप पीडा दिने काम राज्यले गर्न नहुनेमा उहाँले जोड दिनुभयो । पीडितलाई समयमै रकम उपलब्ध गराउन तीनै तहको सरकारबिच समन्वय हुनु आवश्यक रहेको उहाँको भनाइ छ ।  

जिल्लाभर रहेका अग्निपीडितहरुले आवास निर्माण गर्न जिल्ला विपद् व्यवस्थापन समितिबाट लाभग्राही कायम गरेर रकम निकासाका लागि माग गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो । हालसम्म रकम निकासा नभएकाले समयमै भुक्तानी गर्न नसकिएको उहाँको भनाइ छ  । गर्मीयाममा आगलागीका कारण जिल्लामा १६९ घर गोठ जलेर नष्ट भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङक छ ।