• ७ मंसिर २०८१, शुक्रबार

नागरिकका गुनासोको चाङ

blog

बुटवल समाचारदाता 

बुटवल, मङ्सिर ५ गते । पालिकामा जनप्रतिनिधि निर्वाचित भएको साढे दुई वर्ष पूरा भएको छ । साढे दुई वर्षको बिचमा पालिकाका सेवाग्राहीको जनप्रतिनिधिप्रति गुनासो भने बढेको छ । बुटवल उपमहानगर र सैनामैना नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी पालिकाका नागरिकले पालिकाको कामप्रति चर्को असन्तुष्टि जनाएका छन् । 

सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राहीले चुनावका बेला जनप्रतिनिधिले जनतासँग गरेका वाचा कबुल सबै बिर्सिएको भन्दै आक्रोश पोखेका थिए । पालिकाहरूले बेरुजु फस्र्योटमा ध्यान नदिएको, पहिलेभन्दा अहिले बेरुजु बढ्दै गएको, नगरपालिकामा आर्थिक अनियमितता बढेको र इन्धनको व्यापक दुरुपयोग गरिएको, नगर सुशासनमैत्री हुन नसकेकोलगायतका गुनासो सेवाग्राहीको छ । त्यसै गरी पालिकाका वडासमेत सेवाग्राहीमैत्री हुन नसकेको गुनासो सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेको छ ।

वडा कार्यालयमा सामान्य सिफारिस बनाउन जाँदा छ सय रुपियाँसम्म लिने गरिएको र वडामा जाँदा पैसा नतिरिकन सामान्य काम बनाउन नसकिने अवस्था रहेको विजय सुनारले बताउनुभयो । बुटवलको सार्वजनिक सुनुवाइमा सेवाग्राहीले पालिकाको सडकको अवस्थामा सुधार नभएको, पुल नहुँदा बर्सातमा नदी वारपार गर्न समस्या भएको, सडकबत्तीको व्यवस्था प्रभावकारी नभएको, चोरीका घटना बढ्दै गएको र फोहोरको समस्या समाधान हुन नसकेको गुनासो गरेका थिए । त्यसै गरी सैनामैना नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा उज्यालो सैनामैना भने पनि रातिमा बत्तीको व्यवस्था नभएको, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किँदै गएको, कालोपत्रे हुनुपर्ने सडक झनै बिगँ्रदै गएको अवस्थाप्रति चिन्ता व्यक्त गरेका थिए । 

सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीले पछिल्लो समय जनताका प्रत्यक्ष जीवनसँग जोडिएका कुरामा सैनामैना नगरपालिका उदासीन बन्दै गएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । बुटवलमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई शिक्षा, स्वास्थ्य र मानवीय संसाधनका क्षेत्रमा देशकै अब्बल र आर्थिक रूपमा सबल बनाउने गरी योजना अगाडि बढाइएको भन्दै जनताबाट आएका गुनासा र सुझावलाई मार्गनिर्देशनका रूपमा ग्रहण गर्ने प्रतिबद्धता जनाउनुभयो । नगरप्रमुख पाण्डेले बुटवल–नारायणगढ सडकको स्तरोन्नति गर्ने र सुकुमवासी तथा अव्यवस्थित जग्गाको लालपुर्जा प्राप्त गर्दा लाग्ने शुल्क आधा घटाउनुपर्ने प्रस्ताव यस क्षेत्रका पालिकाका जनप्रतिनिधिले प्रधानमन्त्री, अर्थमन्त्री तथा भौतिक पूर्वाधारमन्त्रीसमक्ष राखेको जानकारी गराउनुभयो । 

सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैनालाई सुशासनमैत्री बनाउने कुरामा कुनै पनि कन्जुस्याइँ नगरिएको बताउँदै जनताको गुनासो सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।