• ७ मंसिर २०८१, शुक्रबार

कृषि विकासका लागि अनुसन्धान आवश्यक

blog

जनकपुरधाम समाचारदाता

जनकपुरधाम, मङ्सिर ५ गते  । मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दनसिंह क्षेत्रीले मधेशको कृषि क्षेत्रको विकासका लागि अनुसन्धान अति आवश्यक भएको बताउनुभयो । राष्ट्रिय पशु विज्ञान  अनुसन्धान प्रतिष्ठानद्वारा मङ्गलबार धनुषामा आयोजित दुईदिने प्रदेशस्तरीय प्रविधि हस्तान्तरण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो आवश्यकता औँल्याउनुभएको हो । 

मन्त्री क्षेत्रीले मधेशको कृषि क्षेत्रलाई उकासेर सकारात्मक परिणाम ल्याउन अनुसन्धान खाँचो रहेको बताउनुभयो । उहाँले प्रविधिको युगमा कृषिलाई पनि प्रविधिमैत्री बनाउन सके यस क्षेत्रमा फड्को मार्न सकिने र यहाँका किसानलाई कृषि कार्यमा सहजसमेत हुने बताउनुभयो । कृषिमन्त्री सिंहले भन्नुभयो, “कृषि क्षेत्रलाई बलियो बनाउन अनुसन्धान आवश्यक छ त्यसकारण अनुसन्धान गर्ने विषय स्पष्ट हुन जरुरी छ ।” अनुसन्धान नभएका कारण केही प्रदेशका कृषि योजना असफल भएको उदाहरण दिनुहुँदै उहाँले मधेशको कृषि क्षेत्रलाई उकास्न आगामी आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । 

यस्तै पशुपन्छी विकास तथा मत्स्य विकास निर्देशनालय मधेशका निर्देशक जागेश्वर यादवले अनुसन्धानबिना कृषि क्षेत्रको विकास असम्भव रहेको दाबी गर्नुभयो । मधेशमा प्रविधिमैत्री र किसानमैत्री कुनै कार्यक्रम नरहेको बताउनुहुँदै उहाँले तिनै तहको सरकार र कृषि क्षेत्रमा काम गर्ने संस्थाले एकअर्काको संवाहकका रूपमा काम गर्न आवश्यक रहेको बताउनुभयो । यसै गरी प्रदेश दुग्ध विकास बोर्ड मधेशका उपाध्यक्ष शम्भुनारायण शाहले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा भएका अनुसन्धान प्रदेश र प्रदेशले स्थानीय तहसम्म पु-याउने व्यवस्था मिलाउन आग्रहसमेत गर्नुभयो ।

कार्यव्रmमका सभापति तथा राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठानका निर्देशक डा. नीना अमात्य गोर्खालीले मधेशलाई प्राथमिकतामा राखेर गत वर्ष स्थानीय तह र यस वर्ष प्रदेशस्तरीय कार्यक्रमको आयोजना गरेको उल्लेख गर्नुभयो । उहाँले कृषि अनुसन्धानमा राखेको बजेट पर्याप्त नभएको बताउनुहुँदै सरकारले कृषि क्षेत्रको विकास उकास्न कृषि अनुसन्धानका लागि पर्याप्त बजेट विनियोजन गर्न आवश्यक रहेको बताउनुभयो । 

मधेश प्रदेशका आठवटै जिल्लाका पशु विज्ञान र मत्स्य विकासका विज्ञको सहभागितामा नार्कले विकास गरेका पशु तथा मत्स्यसम्बन्धी आधुनिक नवीनतम प्रविधिमा अन्तव्रिर्mया गरिएको थियो । सहभागीले कृषि प्रविधिसँग आफूहरूलाई जोड्न आग्रहसमेत गरेका छन् । कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. विनयकुमार कर्ण, कृषि अनुसन्धान निर्देशनालय मधेशका निर्देशक विश्वेश्वरप्रसाद यादव, राष्ट्रिय धानबाली अनुसन्धानका निमित्त संयोजक पल्लवी सिंहसहितको उपस्थिति रहेको थियो ।