• ७ मंसिर २०८१, शुक्रबार

हाइड्रोसेफलबाट पीडित बालकको शल्यक्रिया

blog

कमल खत्री 

धम्बोझी, मंसिर ५ गते । पश्चिम नेपालको ठुलो अस्पताल भेरी अस्पताल नेपालगन्जमा हाइड्रोसेफलसबाट पीडित १५ महिने बालकको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । 

चिकित्सकीय भाषामा यसलाई भेन्ट्रिकुलोपरिटोनियल (भिपी) शंट शल्यक्रिया भनिन्छ । सल्यान वागचउर नगरपालिका –७ सानागाराकोटका १५ महिने कृष्ण परियार खेल्ने क्रममा दुई महिनाअघि घरको पेटीबाट लडेर घाइते भएका थिए । 

खाना खाने वित्तिकै वान्ता हुने र आँखा समेत नदेख्ने समस्या भएपछि सल्यानबाट थप उपचारका लागि परियारलाई नेपालगन्ज ल्याइएको थियो । सिटि स्क्यानमा मस्तिष्कमा पानी जमेको पाइएपछि भेरी अस्पतालको न्यूरो विभागको टिमले शल्यक्रियाको निष्कर्ष निकालेको थियो । 

सोही अनुसार कात्तिक –८ गते न्यूरोजर्सन डा. सुवोध गौतम नेतृत्वको टिमले शल्यक्रिया गरेको थियो । मस्तिष्कको भेन्ट्रकल्सबाट मेरुदण्डसम्म पुग्नु पर्ने तरल पदार्थ मस्तिष्कभित्र असामान्य अवस्थामा जम्मा हुनुलाई हाइड्रोसेफलस भनिन्छ । मस्तिष्कको भेन्ट्रकल्सबाट मेरुदण्डसम्म पुग्नु पर्ने यो तरल पदार्थले मस्तिष्कका लागि पोषक तत्व वितरण र फोहोर हटाउने प्रणालीको रुपमा काम गर्दछ ।

कतिपयलाई वंशाणुगत रुपमा नै हाइड्रोसेफलसको समस्या देखिन्छ भने कतिपयलाई चोटपटक लाग्दा, तरल पदार्थ बग्ने नलीमा ट्युमर हुँदा पनि हाइड्रोसेफलसको समस्या हुन सक्ने बताउनुहुन्छ न्यूरोसर्जन डा. गौतम । 

टाउकोमा चोट लागेका ती बालकको उपचारका क्रममा इन्फेक्सन भएको अनुमान गरिएको छ । डा. गौतमले भन्नु भयो, ‘उपचारका क्रममा कहिलेकाँही त्यही इन्फेक्सनले मस्तिष्कमा पानी जमेको हुन सक्छ । बच्चाको सबै हिष्ट्री बुझ्दा र सिटिस्क्यान रिपोर्ट हेर्दा मस्तिष्कमा पानी जम्मा भएको देखियो’ उहाँले भन्नुभयो ।

१५ महिनाको बालकको शल्यक्रिया गरिनु नै जोखिमपूर्ण र जटिल हुने उहाँको भनाइ छ । हाम्रो टिमले सफलतापूर्वक भेरी अस्पतालमा १५ महिनाको बालकको पहिलो पटक शल्यक्रिया गरेको उहाँले बताउनुभयो । 

भेरी अस्पतालको विशिष्टिकृत सेवालाई भिपी शंट शल्यक्रियाले थप उचाइ दिने काम गरेको छ । तर अस्पतालसँग सिटी स्क्यान मेसिनको अभावले भने विशिष्टिकृत सेवा प्रवाहमा बाधक बन्ने गरेको छ । अस्पतालमा सिटी स्क्यान मेसिनको अभावले न्यूरोसर्जिकल र लगायतका सेवामा नकारात्मक प्रभाव पारेको छ ।