• ७ मंसिर २०८१, शुक्रबार

‘चिया ऐन बनाउन पहल गर्छु’

blog

चिया क्षेत्रको समस्याका विषयमा गराइएको ध्यानाकर्षण बुझ्दै सभामुख देवराज घिमिरे ।

दमक समाचारदाता

दमक, मङ्सिर ५ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले चिया क्षेत्रका समस्या समाधान गर्न तथा चिया ऐन बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । झापाको बिर्तामोडमा चियासँग सम्बन्धित सरोकारवालासँग भएको छलफलमा चिया क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

नेपालमा चिया रोपण भएको १६१ वर्ष पुग्दा समेत चिया ऐन निर्माण नभएको भन्दै व्यवसायीले ध्यानाकर्षण गराएपछि सभामुख घिमिरेले यो विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । चियासम्बन्धी ऐन नबनेका कारण सरकारले छुट्याएको बजेटसमेत उपयोग हुन नसकेको उनीहरूको भनाइ छ । सभामुख घिमिरेले चिया क्षेत्रका कतिपय समस्या आफूलाई पहिलो पटक थाहा भएको भन्दै त्यसको समाधानमा आफूले  पहल गर्ने बताउनुभयो । अहिलेसम्म चिया खेती प्रवर्धन तथा यसको विकासका लागि ऐन नभएको विषयबारे आफू अनभिज्ञ रहेको बताउनुभयो । 

ऐन कानुन नहुँदा गत आर्थिक वर्षमा कोशी प्रदेश सरकारले चिया क्षेत्रका लागि विनियोजन गरेको चार करोड १० लाख रुपियाँ फ्रिज भएको थियो । चार अर्ब विदेशी मुद्रासहित वार्षिक करिब ११ अर्र्ब रुपियाँको आर्थिक कारोबार हुने चिया क्षेत्र ऐन कानुनको अभावमा व्यवस्थित हुन नसकेको प्रादेशिक चिया समन्वय समितिका संयोजक आदित्य पराजुलीले जानकारी गराउनुभयो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले सङ्घ र प्रदेश सरकारको समन्वय गरेर चिया क्षेत्रका समस्या समाधान गर्न सकिने बताउनुभयो । चालु आवमा प्रदेश सरकारले विनियोजन गरेको दुई करोड ६५ लाख रुपियाँ कार्यान्वयन गर्न पनि आवश्यक पहल गरिदिन उहाँले आग्रह गर्नुभयो ।