• ७ मंसिर २०८१, शुक्रबार

गाली गलौज संस्कृतिको अन्त्य गरौँ : उपाध्यक्ष ज्ञवाली

blog

नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेलसहित नेताहरु कार्यक्रममा ।

गोकर्ण पौडेल

तुलसिपुर, मङ्सिर ४ गते । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले राजनीतिक दलहरुबिच रहेको गाली गलौज संस्कृति अन्त्य गर्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) जिल्ला कमिटी दाङले आयोजना गरेको एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य देवी पोख्रेलको सम्झनामा आयोजित श्रद्धाञ्जली सभामा उहाँले सो कुरा बताउनुभएको हो । 

उपाध्यक्ष ज्ञवालीले दाङको कम्युनिष्ट आन्दोलनमा देवी पोख्रेलले अतुलनीय योगदान दिनुभएको बताउनुभयो । कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेलले दाजुकै अथक योगदानबाट राजनीतिक यात्रा सुरु गरिएको बताउनुभयो । उहाँले तत्कालीन सरकारले प्रौढ शिक्षा सुरु नगरिएकै अवस्थामा गाउँघरमा दाजुले प्रौढ शिक्षा सुरु गरेको बताउनुभयो । महासचिव पोखरेलले दाजुको आदर्शबाट राजनीतिक क्षेत्रमा अघि बढ्ने बताउनुभयो । नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष  शिवकुमार आचार्यको अध्यक्षतामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।

कार्यक्रममा मृतक देवी पोखरेलकी बहिनी  मेनका पोख्रेलले जीवनीका बारेमा चर्चा गर्नुभयो । २००७ साल मङ्सिर ७ साविक बिजौरी गाविस ६ मा जन्मिएका देवी पोखरेल  कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ सचिवालयमा रही काम गर्नुभएको थियो ।