• ७ मंसिर २०८१, शुक्रबार

धनकुटामा कांग्रेस–एमालेको संयुक्त राजनीतिक संयन्त्र गठन

blog

धनकुटामा नेपाली कांग्रेस र नेकपा (एमाले)को दुई दलीय राजनीतिक संयन्त्र ।

धनकुटा, मङ्सिर ४  गते। धनकुटामा नेपाली कांग्रेस र नेकपा (एमाले)को दुई दलीय राजनीतिक संयन्त्र गठन भएको छ। श्रीवानीस्थित एमाले पार्टी कार्यालयमा मंगलबार बसेको दुई दलका पदाधिकारीको बैठकले नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राईको संयोजकत्वमा ६ सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको हो।

संयन्त्रमा कांग्रेस र एमालेबाट तीन/तीन जना सहभागी भएका छन्। संयन्त्रको सदस्यमा नेपाली कांग्रेसबाट सभापति दिनेश राई, उपसभापति सुनिल डंगोल र सचिव विजयसन्तोषी राई हुनुहुन्छ। त्यस्तै, नेकपा (एमाले)बाट केन्द्रीय सदस्य राईसँगै जिल्ला अध्यक्ष शिव आङ्ला र सचिव पर्शुराम नेपाल संयन्त्रमा सहभागी भएको (एमाले) धनकुटाका प्रचार विभाग प्रमुख रवीन कटेलले जानकारी दिए।

यसैबिच, संयन्त्रको पहिलो बैठकले जिल्लामा दुई पार्टीबीच समन्वय गरेर अघि बढ्ने निर्णय गरेको छ। स्थानीय सरकार सञ्चालनमा समझदारीपूर्ण वातावरण निर्माण गरेर काम गर्ने, महत्त्वपूर्ण विषयमा साझा धारणा निर्माण गरेर अघि बढ्नेलगायत निर्णय भएको संयन्त्रका सदस्य एवं एमाले सचिव पर्शुराम नेपालले जानकारी दिए।