• २५ पुस २०८१, बिहिबार

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री पौडेल

blog

बागलुङको बिहुँकोट आधारभूत अस्पताल भवन उद्घाटन कार्यक्रममा मन्त्री प्रदीप पौडेल । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य  

बागलुङ, मङ्सिर ४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

मंगलबार बागलुङमा आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले आवश्यक प्रक्रियाको थालनी गरिसकेको जानकारी दिनुभयो । 

बागलुङको काठेखोला गाउँपालिका-६ बिहुँकोट आधारभूत अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै मन्त्री पौडेलले ग्रामीण क्षेत्रमा रहेका अस्पतालहरूमा पूर्वाधार निर्माण, दक्ष जनशक्ति र उपकरणको व्यवस्थापन गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । 

मन्त्री पौडेलले भन्नुभयो, ‘‘सरकारले विकट बस्तीमा रहेका स्वास्थ्य संस्थाहरूको स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ । विपन्न र असहाय नागरिकले पनि सहज रूपमा सबैखाले स्वास्थ्य सुविधा उपभोग गर्न सकुन् र उपचारको अभावमा कोहिपनि अकालमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले सरकारले स्वास्थ्य क्षेत्रको सुधारका काम थालेको छ ।’’ 

एक महिनाभित्रै सबै प्रकारका औषधीको मूल्य समायोजन गरी एकरूपता कायम गर्ने उहाँको भनाइ थियो । सात वटै प्रदेशमा मुटुरोगको उपचारका लागि विशिष्टीकृत अस्पतालको सञ्चालन गर्ने सरकारको योजना रहेको उहाँले सुनाउनुभयो । 

मन्त्री पौडेलले तथा उपकरण खरिद प्रक्रियामा सबै सरकारी अस्पतालले समयमा नै सम्पन्न गरेर जनतालाई सहज सेवा प्रदान गर्न स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिइएको उहाँको भनाई छ । मन्त्री पौडेलले मंगलबार नै बागलुङको गलकोटमा रहेको नगरअस्पतालमा आकस्मिक प्रसूति तथा नवजात शिशु सेवा सिईओएनसीको उद्घाटन समेत गर्नुभयो । 

सरकारले मूल्य समायोजन गरेपछि सोही मूल्य सूचिका आधारमा मुलुकभर औषधीहरू खरिद बिक्री हुने र बिरामीहरू ठगिन नपर्ने उहाँको भनाइ छ । मन्त्री पौडेलले मुलुकभरिका १६ लाख किशोरीहरूलाई पाठेघरको क्यान्सर विरुद्धको खोप लगाउने व्यवस्था गरिएको बताउँदै अहिले खोप भण्डारणको काम भइरहेको बताउनुभयो । त्यस्तै १४ वर्ष मुनिका बालबालिकाको क्यान्सरको निःशुल्क उपचार गरिने जस्ता कार्यक्रमले धेरै लाभान्वित भएको उहाँको भनाइ थियो ।