• ७ मंसिर २०८१, शुक्रबार

मगर साहित्य महोत्सव तयारी तीव्र

blog

कार्यक्रमबारे जानकारी दिन बुटवलमा आयोजित पत्रकार सम्मेलन । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, मङ्सिर ४ गते । रुपन्देहीमा हुने मगर साहित्य महोत्सव तयारी तीव्र पारिएको छ । नेपाल मगर महिला सङ्घ रुपन्देहीले यही मङ्सिर २१ र २२ गते आयोजना गर्ने प्रथम मगर साहित्य महोत्सव तयारीका लागि कार्यतालिका तय गरेको हो । 

सचिवालय सदस्य तथा प्रचारप्रसार समितिका संयोजक यम रानाका अनुसार मङ्सिर ५ गते प्यानल डिस्कसनको विषय छनोट तथा पात्रका बारेमा तयारी बैठक, ८ गते स्वयम् सेवकका लागि अभिमुखीकरण, मङ्सिर १२ गते आयोजक समितिको पूर्ण बैठक तथा मङ्सिर १६ गते पत्रकार सम्मेलन लगायतका कार्यतालिका तय गरिएको हो । 

मगर समुदायको भाषा, साहित्य, इतिहास र परम्पराको संरक्षणमा टेवा पुग्नेगरी आयोजना गरिने सम्मेलनमा कविता वाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, प्राचीन सामग्रीहरूको प्रदर्शन तथा विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिनुका साथै प्यानल डिस्कसनको आयोजना गरिने महोत्सव प्रचार समितिका संयोजक रानाले जानकारी दिनुभयो । 

देशभरका मगर साहित्यकार, कलाकार तथा फरक–फरक विधाका व्यक्तित्वहरूको सहभागिता रहने सम्मेलन आयोजनाका लागि १०१ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ । सम्मेलन सफल बनाउन प्रवासमा रहेका नेपालीहरूलाई जोड्न १ दर्जन बढी देशहरूमा उप समिति गठन गरी तयारीलाई अघि बढाइएको प्रचार संयोजक रानाले जानकारी दिनुभयो ।

महोत्सवमा मगर समुदायले बोल्ने ढूट, खाम तथा काईके गरी ३ वटै भाषामा कविता वाचन प्रतियोगिता हुने महोत्सव मूल आयोजक समितिका प्रवक्ता शङ्कर गाहाले जानकारी दिनुभयो । उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयलाई क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद राशिले सम्मान गरिने छ। 

यसैगरी सान्त्वना हुने दुई जनालाई पनि नगद पुरस्कारको व्यवस्था गरिनुका साथै सम्पूर्ण सहभागीलाई प्रोत्साहनस्वरुप नगद राशिले सम्मान गरिने छ ।

सम्मेलनमा आदि कवि जितबहादुर सिंजाली मगर साहित्य पुरस्कार र गोरे बहादुर खपाङ्गी मगर सामाजिक पुरस्कार स्थापना गरी सम्मान गरिने महोत्सव मूल आयोजक समिति संयोजक तथा नेपाल मगर महिला सङ्घ रुपन्देही अध्यक्ष निर्मला थापाले बताउनुभयो । 

सम्मेलन सम्पन्न गर्न लाग्ने खर्च रकम दान दातव्य, मगर चलचित्र च्यारिटी सो, विदेशमा रहेका नेपालीहरूबाट सहयोग सङ्कलन, क्युआर कोटबाट न्यूनतम १० रुपैयाँ दान अभियान तथा स्थानीय सरकारसँग सहकार्य गरी सङ्कलन गरिने थापाको भनाइ छ । मगर साहित्य महोत्सवका लागि २० लाख खर्च हुने अनुमान गरिएको छ ।