• २५ पुस २०८१, बिहिबार

हात्ती डुबाउने ताललाई पुरानै स्वरुपमा फर्काइने

blog

शनिश्चरे ताल। तस्बिर :बोमलाल गिरी

बोमलाल गिरी
नवलपुर, मङ्सिर ४ गते ।
देवचुली नगरपालिका नवलपुरको सिसवार मध्यवर्ती क्षेत्रअन्तर्गत  दिव्य सामुदायिक वनमा रहेको शनिश्चरे ताललाई पुरानै स्वरुपमा फर्काइने भएको छ । सिसवार उपभोक्ता समिति र गण्डकी प्रदेश सरकारको संयुक्त लगानीमा ताल विस्तारको काम अगाडि बढाइएको सिसवार उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले जानकारी दिनुभयो ।

६ वर्ष अघिदेखि प्रदेश सरकारको सहयोगमा ताललाई संरक्षण गर्दै विस्तारको काम अगाडि बढाइएको पाण्डेले बताउनुभयो । उहाँका अनुसार गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको सहयोगमा डिपिआर तयार गरी ताल विस्तारको कामलाई अगाडि बढाइएको हो ।

वि.सं २०५० सालअघि हात्ती डुबाउने ताल भनेर चिनिने यो तालमा त्यही साल नारायणी नदी र बौलाहा खोलाको बाढी पसेसँगै विस्तारै तालको आकार र स्वरुप फेरिँदै गएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर (नवलपुर क्षेत्र) तर्फको मध्यवर्ती क्षेत्रमा रहेको यो ताल जलकुम्भी र काँसले भरिँदै सिमसारको रुप लिएपछि त्यस क्षेत्रका वन्यजन्तुलाई पानी पिउन र आहालका लागि समेत समस्या बन्दै गएको छ । जसका कारण तालको अस्तित्व नै सङ्कटमा पर्न थालेपछि स्थानीयको सक्रियतामा यसलाई पुरानै स्वरुपमा मात्रै नभएर जैविक पर्यापर्यटनसँग जोड्ने गरी संरक्षणको काम सुरु गरिएको हो ।

अहिलेको ताल सात बिघा क्षेत्रफलमा फैलिएको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अनुसार तालको संरक्षणको काम सम्पन्न हुदाँ ३१ बिघा क्षेत्रफलमा फैलिने अध्यक्ष पाण्डेले बताउनुभयो । साँझपख सूर्यास्तको मनोरम दृश्य मात्रै नभएर एकसिंगै गैँडाको जलक्रीडासहित साइबेरियन चरा, मयूर, सारस लगाएतका चराहरुको मनमोहक दृश्यले यो तालको महत्त्वलाई झनै बढाएको छ ।

यो ताललाई वन्यजन्तुका लागि पानीको स्रोत जुटाउन मात्रै नभई जैविक विविधताको संरक्षण गरेर पर्यापर्यटनको गन्तव्य बनाउने गरी संरक्षणको काम अगाडि बढाइएको पाण्डेले बताउनुभयो । डिपीआरअनुसार दुई वटा आवासीय मचान, तालको बिचमा मन्दिर, सङ्ग्रहालय र पार्क बनाइनेछ ।

गण्डकी प्रदेश सरकारको पर्यटनको गन्तव्यमा समेत सूचीकृत यस ताललाई संरक्षण गरेर पर्यापर्यटनसँग जोड्नका लागि हालसम्म प्रदेश सरकारको सहयोगमा ७० लाख रुपियाँ खर्च भइसकेको र चालु आर्थिक वर्ष समेत ४० लाख रुपियाँ बजेट विनियोजन भएको पाण्डेले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले यो तालको संरक्षण र विस्तारका लागि आर्थिक वर्ष २०७९/०८० मा ४० लाख, गत आर्थिक वर्षमा १५ लाख रुपियाँ विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा पनि ४० लाख रुपियाँ विनियोजन भएको छ । यो तालका लागि केन्द्र सरकारले समेत चासो दिँदै तत्कालीन पर्यटन मन्त्री स्व. रवीन्द्र अधिकारीको पालामा २० लाख रुपियाँ विनियोजन भएको थियो । प्रदेश सरकारकाले क्रमागत योजनाको रुपमा अगाडि बढाएको यो तालको पुनर्निमार्णका लागि करिब सात करोड रुपियाँ अनुमान गरिएको छ ।

संरक्षणसँगै ताललाई स्थानीयको आयआर्जनको रुपमा समेत अगाडि बढाउँदै गएको दिव्य सामुदायिक वनका अध्यक्ष सुवास ओझाले बताउनुभयो । संरक्षणको क्रममा बाढीले पुरिएर रहेका ससाना ५ वटा पोखरीलाई एउटै बनाएपछि अहिले सामुदायिक वनले व्यवस्थापन गर्ने गरी माछापालन सुरु गरिएको अध्यक्ष ओझाको भनाइ छ । उहाँका अनुसार अहिले तालमा ३५ हजार माछाका भुरा छाडिएको छ ।

तालको पुनर्निर्माणले वन्यजन्तुको संरक्षणसँगै पर्यापर्यटनको बाटो खुलेको अध्यक्ष ओझा बताउनुभयो । ‘‘यो तालको पुनर्निर्माणले स्थानीयलाई पर्यापर्यटन र संरक्षणसँग जोडेर मानव वन्यजन्तु द्वन्द्वलाई न्यूनीकरणका लागि ठूलो सहयोग पुर्‍याउँछ,’’ अध्यक्ष ओझाले भन्नुभयो ।

ताल रहेको दिव्य सामुदायिक वनमा विगत पाँच वर्ष अघिदेखि जिप सफारीसमेत सञ्चालन गरिएको छ । तालको पुनर्निर्माणले यस क्षेत्रमा पर्यापर्यटनको गतिविधिसँगै स्थानीयको आयआर्जनमा समेत सहयोग गर्ने संरक्षणकर्मी डिआर क्षेत्रीले बताउनुभयो ।

‘‘तालको डिपीआरले समेत देवचुली डाँडाबाट प्याराग्लाइडिङ् गरेर तालको पूर्वी भागमा रहेको ठूलो चौरमा ल्यान्डिङ् गर्न सकिने सम्भावना देखाएको छ,’’ क्षेत्रीले भन्नुभयो, ‘‘यसले पर्यापर्यटनका लागि तालको पुनर्निर्माणले ठूलो महत्त्व राख्छ ।’’

पूर्व पश्चिम राजमार्गको केउरेनी चोकदेखि करिब २ किलोमिटर दक्षिणमा रहेको यो तालको पुनर्निर्माण सुरु भएसँगै यस क्षेत्रका स्थानीय, संरक्षणकर्मी र पर्यटन व्यवसायी निकै उत्साहित बनेका छन् ।