• ११ पुस २०८१, बिहिबार

बोक्सी उन्मूलनमाथि बनेको ‘अग्निदहन’

blog

 गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ४ गते । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अग्निदहन’ को निर्माण पक्षले सोमबार पत्रकारसँग अन्तरक्रिया गर्दै चलचित्रले बोक्सी प्रथा उन्मूलनलाई मुख्य विषय बनाएको जनाएको छ । 

साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर तयार पारिएको चलचित्रका प्रस्तुतकर्ता तथा परिकल्पनाकार कोविदशरण उपाध्यायले भन्नुभयो, “समाजमा बोक्सी छैन भन्ने सन्देश दिन हामीले चलचित्र बनाएका हौँ । बोक्सीका नाममा अझै पनि महिलामाथि अत्याचार भइरहेका घटना बेला बेलामा सार्वजनिक भइरहन्छन् । हामी चलचित्रमार्फत बोक्सी हुँदैनन् र महिलालाई बोक्सीका नाममा अत्याचार गरिनु हुन्न भन्ने सन्देश दिन चाहन्छौँ ।”

नायिका प्रमिला तुलाचनले भन्नुभयो “आफूले ‘बोक्सी’ को आरोप लागेकी माइली दमिनीको चरित्र निर्वाह गरेको जानकारी दिँदै त्यो चरित्र अध्ययन गर्न सुकुमवासी बस्ती पुगेको खुलाउनुभयो । समाजमा दुःखी, गरिब महिलाप्रति गरिने व्यवहार, एकल महिलालाई गरिने दुव्र्यवहार, असहाय महिलालाई लगाइने लाञ्छना जस्ता दृश्य देखेर यही चरित्रलाई पर्दामा उतार्ने प्रयास गरेकी छु ।” 

कलाकार तुलसी क्षेत्रीले बोक्सीको आरोप लागेका महिलालाई धामीझाँक्रीले दिने यातना साँच्चै असह्य हुने गरेको बताउनुभयो ।  निर्देशक घनश्याम लामिछानेले चलचित्र व्यावसायिक हिसाबले नबनाएको बताउनुभयो । “मान्छे कोही पनि बोक्सी हुँदैनन् भन्ने सोचलाई देशव्यापी अभियानका रूपमा अगाडि बढाउन चलचित्र निर्माण गरेका हौँ,” उहाँले भन्नुभयो । 

चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बाँस्तोला, ताराबहादुर गुरुङको अभिनय रहेको छ । फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, शङ्कर पाण्डेको प्रोडक्सन डिजाइन छ ।