रेखीराम राना
तानसेन, मङ्सिर ३ गते । पाल्पामा सञ्चालित चार चुनढुङ्गा खानी कम्पनीले अवैध उत्खनन् गरेको भन्दै डिभिजन वन कार्यालय पाल्पाले अदालतमा मुद्दा दायर गरेको छ ।
कम्पनीले चुनढुङ्गा उत्खनन्का लागि स्वीकृत पाएको क्षेत्र मिचेर राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी चुनढुङ्गा उत्खनन् गरेको वन कार्यालयको दावी छ । जिल्लाको तिनाउ गाउँपालिका –३, स्थित श्रीडाँडाबाट सिद्धार्थ मिनिरल्स प्रालिले स्वीकृत पाएको भन्दा बढी वन क्षेत्र अतिक्रमण गरेको वन कार्यालयको दावी छ ।
राष्ट्रिय वन क्षेत्र मिचेर चुनढुङ्गा उत्खनन् गरेको, सडक बनाएको र अबैध डम्पिङ् गरेको वन कार्यालयले दावी गर्दै जिल्ला अदालत पाल्पामा मुद्दा दायर गरेको छ । वन कार्यालयले खानी सञ्चालक सिद्धार्थ मिनिरल्स प्रालिका सञ्चालकलाई ३९ लाख ६३ हजार, ८५२ रुपियाँ क्षतिपूर्ति माग दावी गरेको छ ।
यस्तै, मुलुकी अपराध संहिता ऐन २०७१ अनुसार कैद सजायको समेत माग दावी गरिएको जिल्ला अदालत पाल्पाले जनाएको छ । अदालतमा गत कात्तिक २७ गते भएको थुनछेक बहसबाट उद्योगका सञ्चालक पशुपति मुरारकालाई चार लाख धरौटीमा छाड्ने आदेश दिएको अदालतका श्रेष्तेदार केशव पराजुलीले जानकारी दिनुभयो ।
यस्तै, पाल्पाको माथागढी –५, स्थित विएस सिमेन्ट प्रालिले स्वीकृति पाएको भन्दा बढी उत्खनन् गरी वन क्षेत्रमा हानी नोक्सानी गरेको वन कार्यालयले जनाएको छ । कम्पनीलाई चार करोड १५ लाख रुपियाँ विगो भराउन माग गरिएको छ । तिनाउस्थित कन्चन क्वारिज प्रालिले पनि अबैध उत्खनन् गरेको भन्दै ७८ लाख विगो माग गरिएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिनुभयो ।
यस्तै माथागढी–७, रहबासस्थित पाल्पा सिमेन्ट प्रालिले पनि स्वीकृति पाएको क्षेत्रभन्दा बढी उत्खनन् गरेको छ । उसले झण्डै चार हेक्टर बढी वन क्षेत्र अतिक्रमण गरी अबैध उत्खनन् गरेको भन्दै ६७ लाख रुपियाँ विगो माग गर्दै मुद्दा दायर गरिएको डिभिजन प्रमुख भट्टराईले बताउनुभयो । चार वटै कम्पनीका सञ्चालकबिरुद्ध गत वर्षदेखि जिल्ला अदालत पाल्पामा मुद्दा चलिरहेको छ ।