• ३ मंसिर २०८१, सोमबार

वर्षदिनभित्रै बन्द हुन्छन् सुपथ मूल्यका पसल

blog

तानसेन नपाको अनुदानमा सञ्चालित सुपथ मूल्यको पसल । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, मङ्सिर ३ गते । सहकारीले सञ्चालनमा ल्याएका सुपथ मूल्यका पसल एक वर्षभित्रै बन्द हुने गरेका छन् । सहकारीहरूले अनुदान लिएर सञ्चालन ल्याएका सुपथ मूल्यका पसल एक वर्षभित्रै बन्द हुने गरेको हो । 

सुपथ मूल्यको पसल सञ्चालन गर्न भन्दै सहकारीहरूले सरकारबाट एक लाख देखि नौ लाख रुपियाँसम्म अनुदान लिएका छन् । तर अधिकांश सहकारीले एक वर्षभित्रै पसल सञ्चालन गर्न नसकी बन्द गर्ने गरेका छन् । अनुदान लिएको वर्ष जसोतसो चलेका सुपथ मूल्य पसल वर्षदिनभित्रै बन्द भएका स्थानीय बासिन्दाले बताएका छन् । 

वि.स. २०६५ यता सुपथ मूल्यको पसल सञ्चालन गर्न भन्दै अनुदान लिने जिल्लाभर ७० बढी सहकारी÷सङ्घ संस्था रहेका छन् । तर हाल तानसेन नगरपालिकामा बाहेक अन्य कुनैपनि पालिकामा सुपथ मूल्यका पसल सञ्चालनमा छैनन् । तानसेनमा पनि दुई वर्षअघि नगरपालिकाले तीन वटा सहकारी संस्थालाई नौ–नौ लाख रुपियाँ अनुदान दिएको थियो । ती पसल पनि अहिले समस्यामा रहेका सञ्चालकहरू बताउँछन् ।  

उपभोक्तालाई नाफा नलिई खाद्यान्न, दैनिक उपभोग्य बस्तु, कृषि उपजलगायतका सामग्री बिक्री गरेपनि सम्झौता अनुसार नगरपालिकाबाट अनुदान नपाएको तानसेनस्थित आँगन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गोपाल बस्यालले बताउनुभयो । "नगरपालिकासँगको सम्झौता भङ्ग गरी आफैँ सञ्चालन गर्ने हो भने सुपथ मूल्यका पसल चलाउन सकिन्छ", उहाँले भन्नुभयो, "उपभोक्तालाई नाफा नखाई सामग्री बिक्री गर्दा निरन्तर सञ्चालन गर्न गाह्रो भएको छ ।" 

सहकारी सञ्चालकका अनुसार बाहिरी बजारसँग प्रतिस्पर्धा गर्न नसक्नु र सहकारीमा आबद्ध सदस्यहरूले पसलमा सामान खरिद नगर्दा पसल सञ्चालन गर्न समस्या भएको हो ।  

तानसेन नगरपालिकाका वरिष्ठ अधिकृत दुर्गाबहादुर थापाले पनि अनुदान प्राप्त गरी सुपथ मूल्यमा चलेका पसल समस्यामा रहेको जानकारी आएको बताउनुभयो । नगरपालिकाले पसल व्यवस्थापनका लागि चार लाख र बिउ पुँजीका लागि पाँच गरी नौ लाख रुपियाँ अनुदान दिएको सुपथ मूल्यका पसल अहिले समस्यामा रहेको उहाँले बताउनुभयो ।