अमृतप्रसाद पौडेल
म्याग्दी, मङ्सिर ३ गते । हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण गर्ने पर्यटकहरूले कात्तिक महिनामा मात्रै सरदर दुई अर्ब हाराहारीको आर्थिक कारोबार गरेका छन् । पवित्र तीर्थस्थल मुक्तिनाथ, कागबेनी तथा दामोदर कुण्ड जस्ता धार्मिकस्थल रहेको मुस्ताङ भ्रमण गर्न आउने पर्यटकहरूले गर्ने सरदर खर्च हेर्दा नै झन्डै दुई अर्ब कारोबार भएको देखिन्छ ।
कात्तिक १ गतेदेखि ३० गतेसम्म एक लाख १३ हजार तीन सय आन्तरिक तथा बाह्य पर्यटकहरूले मुस्ताङ भ्रमण गरेका थिए । उहाँहरूले मुस्ताङ भ्रमण गर्दा सरदर १५ हजार हाराहारी खर्च गर्ने भएकाले एक अर्ब ७० करोड हाराहारी खर्च गरेको अनुमान गरिन्छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक(डिएसपी) सूर्यबहादुर बोगटीले दिएको जानकारी अनुसार कात्तिक महिनामा मात्रै आन्तरिक तथा बाह्य पर्यटकहरू हवाई र स्थल मार्गबाट एक लाख १३ हजार तीन सयले मुस्ताङ प्रवेश गरेको देखिन्छ । गएको कात्तिक महिनामा हवाई तथा स्थल मार्गबाट गरी कुल १४ हजार एक सय २४ जना पर्यटकहरू मुस्ताङ आएका छन् ।
विदेशी पर्यटकहरू आठ हजार ९० जना पुरुष र छ हजार ३४ जना महिलाले मुस्ताङ भ्रमण गरेका छन् । तीमध्ये छ सय ५९ पुरुष र ५ सय ७९ महिलाले हवाई मार्ग प्रयोग गरेर मुस्ताङ आएका थिए । सात हजार चार सय ३१ जना पुरुष र पाँच हजार तीन सय ५५ जना महिला गरी कुल १२ हजार सात सय ८६ जना पर्यटकले स्थल मार्गको प्रयोग गरेर मुस्ताङ भित्रिएको प्रहरीले जनाएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनकाले मुस्ताङ भ्रमण गर्ने पर्यटकहरूले आफ्नो सुरुआती गन्तव्य विन्दु देखि फर्केर सोही स्थानसम्म पुग्दा १५ देखि ३० हजार रुपियाँसम्म खर्च गर्छन् । तरपनि सरदर १५ हजार रुपियाँ मात्रै अनुमान गर्दा पनि एक अर्ब ७० लाखको कारोबार भएको देखिने उहाँको तर्क छ ।
मार्फाका स्थानीय पर्यटन व्यवसायी विजय हिराचनले आन्तरिक पर्यटकहरूले मुस्ताङ भ्रमण गर्दा सरदर २० हजार रुपियाँ हाराहारी खर्च गर्ने तर्क गर्नुभयो । उहाँका अनुसार पूर्वी नेपाल तथा पश्चिम नेपाल अनि गण्डकी प्रदेश सबैलाई सरदर हेर्ने हो भने १५ देखि २० हजार हाराहारी खर्च गर्ने हुनाले कार्तिक महिनामा मुस्ताङ भ्रमणको तथ्याङ्क केलाउँदा करिब करिब दुई अर्ब रुपियाँ परिचालन भएको मान्न सकिन्छ ।
यो भ्रमणले देशको अर्थ चलायमान भएको हुनाले पनि यस्ता बिदाहरूमा आन्तरिक तथा बाह्य पर्यटकलाई घुम्ने माहौल सृजना गरिनु पर्ने उहाँले तर्क गर्नुभयो ।