• ७ मंसिर २०८१, शुक्रबार

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

blog

चलचित्र ‘अग्निदहन’बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलमा उपस्थितहरु ।

काठमाडौँ, मङ्सिर ३ गते । आगामी शुक्रबारबाट प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘अग्निदहन’ मा महिलामाथि भएका हिंसाका घटनाहरू उठाइएको छ । सोमबार पत्रकार तथा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै चलचित्रबारे जानकारी गराइएको थियो ।

साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित रहेर तयार पारिएको चलचित्रले समाजमा बोक्सी छैन भन्ने सन्देश दिएको छ । बोक्सीका नाममा अझै पनि महिलामाथि हिंसा भइरहेकाले बोक्सीको नाममा महिलामाथि हिंसा हुन नहुने सन्देश चलचित्रले दिएको छ ।

फिल्मका प्रस्तुतकर्ता तथा परिकल्पनाकार कोविदशरण उपाध्यायले बोक्सी प्रथा उन्मुलन गराउन आफूहरूले फिल्म बनाएको बताउनुभयो । कलाकार तुलसी क्षेत्रीले बोक्सीको आरोप लागेका महिलालाई धामीझाँक्रीले दिने यातना साँच्चै असह्य हुने गरेको बताउनुभयो । निर्देशक घनश्याम लामिछानेले आफ्नो फिल्म व्यावसायिक हिसाबले नबनाएको जानकारी दिनुभयो ।

चलचित्रमा प्रकाश घिमिरे, प्रमीला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङको अभिनय छ । लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, शङ्कर पाण्डेको प्रोडक्सन डिजाइन छ ।