• ८ मंसिर २०८१, शनिबार

जातीय संस्कृति संरक्षण गर्न गण्डकी प्रदेश महोत्सव

blog

गण्डकी प्रदेश महोत्सवमा निमार्ण गरिएको जातीय घरहरू अवलोकन गर्दै ।

मीना कंडेल

कावासोती, मङ्सिर २ गते । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन भइरहेको दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सव–२०८१ मा जातीय संस्कृति संरक्षणको प्रयास गरिएको छ । जनजातिहरूको संस्कृति लोप हुँदै गएकाले नयाँ पुस्तालाई यसबारे बुझाउन तथा संरक्षणका लागि विभिन्न जातजातिका घर निमार्ण गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा थारु, मगर, गुरुङ, तामाङ र चेपाङ जातिको घर निर्माण गरी उनीहरूले प्रयोग गर्ने परम्परागत घरायसी उपकरण तथा मौलिक खानाहरू प्रदर्शनी गरिएको नेपाल मगर सङ्घ गैँडाकोट नगर अध्यक्ष दुर्गाबहादुर मस्राङ्गी मगरले बताउनुभयो । परम्परागत बस्ती र संस्कृतिबारे अहिलेका पुस्तालाई जानकारी नभएको अवस्थामा जातीय संस्कृति बुझाउन सहयोग पुग्ने विश्वास लिइएको उहाँको भनाइ छ ।

सांस्कृतिक घरमा चेपाङले प्रयोग गर्ने बनतरुल, गिठा, भ्याकुर, पिँडालु, स्याखु मगर जातिको सांस्कृतिक घरमा उनीहरूले प्रयोग गर्ने औजारहरू न्हाङली (नाङ्ग्लो), पिराँखु (पेरुङ्गो), खुर्पा ट्याक, खँचरी, मुजुरा, जाँतो, ओदान, ढिकी, थारुकोमा ढडिया, जाल, ढकिया, गुरुङको स्याखु, मादल, खैँचरीलगायतका सामग्री राखिएका छन् । सांस्कृतिक घरमा राखिएका उनीहरूको पोसाक तथा परम्परागत औजार र खाद्यान्न अति नै स्वादिष्ट भएको गैँडाकोट–२ का कृष्णप्रसाद खनालले बताउनुभयो । 

जनजातिको परम्परागत घरसँगै उनीहरूको मौलिकता झल्किने खाना तथा संस्कृति राखिनु संस्कृति संरक्षणको राम्रो प्रयास भएको अम्बिका कँडेलले बताउनु भयो । नवलपुरमा रहेका विभिन्न आदिवासी जनजातिहरूको मौलिक संस्कृति संरक्षण गर्न उनीहरूको परम्परागत घर नै निर्माण गरी महोत्सव पुग्ने सर्वसाधारणलाई संस्कृतिबारे जानकारी गराइएको छ । प्रायः लाग्ने मेला महोत्सवले व्यापार र नाफालाई नै ध्यान दिएका हुन्छन् । तर प्रदेश स्तरीय महोत्सवमा जातीय संस्कृतिलाई पनि जोडेकाले राम्रो प्रयास भएको कँडेलले बताउनुभयो ।

निकै कलात्मक तरिकाले निर्माण गरिएका घरहरूको छानो खरले छाएका छन् । बाँसले बेरिएको घरमा माटोले लिपपोत गरेर भित्तामा जातीय संस्कृति झल्किने विभिन्न कला र आकृति कोरिएको देख्न पाइन्छ । महोत्सवमा सांस्कृतिक घर निर्माणका लागि तिनै जातिका कालीगढहरु प्रयोग गरिएको थियो । कात्तिक २६ गतेबाट सञ्चालन भएको महोत्सव मङ्सिर १० सम्म रहने बताइएको छ ।