• ८ मंसिर २०८१, शनिबार

अग्लुङ्गफेदीमा पक्की पुल निर्माण हुने

blog

रमेश विश्वकर्मा

गुल्मी, मङ्सिर २ गते । गुल्मीको पश्चिमी ग्रामीण भेग प्युठानको सिमानासँग जोडिएको अग्लुङ्गफेदीमा पक्की पुल बन्ने भएपछि स्थानीय अत्यन्तै खुसी देखिएका छन् । मदाने गाउँपालिका–१ अग्लुङ्गमा पर्ने अग्लुङ्गफेदी खोलामा मोटरेबल पक्की पुल निर्माण गर्न लागिएको हुँदा यहाँका स्थानीयसँगै छिमेकी जिल्लावासी समेत खुसी देखिएका हुन् । 

वर्षायामको समयमा यहाँका नागरिकले निकै सास्ती खेप्दै आएका थिए । अत्यन्तै महत्त्वपूर्ण स्थानमा पुल बन्न लागेको प्रति स्थानीयले खुसी व्यक्त गरेका छन् । वर्षाको समयमा खोला तर्नका लागि निकै सास्ती खेप्नु परेको स्थानीय गोर बहादुर विश्वकर्माले बताउनुभयो । वर्षामा खोला तर्न सक्ने अवस्था नहुँदा मान्छेसँगै सवारीसाधनहरू अलपत्र जस्तै बन्ने गरेको भन्दै उहाँले अब पुल निर्माण हुँदा नागरिकको समस्या समाधान हुने बताउनुभयो । 

पक्की पुलबाट खोला तर्ने यहाँका नागरिकहरूको इच्छा पूरा हुने भएको छ । यहाँ पुल नहुँदा अग्लुङ्गका स्थानीय नागरिकले मात्रै नभएर छिमेकी जिल्ला प्युठान, बाग्लुङ्गसम्मका नागरिकहरूले वर्षायाममा निकै समस्या भोग्नुपरेको स्मरण गराउँदै यस वडाका वडाध्यक्ष सुशील चन्दले अब पुल निर्माणको प्रक्रिया अगाडि बढेको बताउनुभयो । वर्षौँदेखि वारपार गर्न समस्या निकै सास्ती खेप्दै आएको भन्दै पूर्व वडा अध्यक्ष प्रेम चन्द बोहोराले लामो समयको प्रयासपछि पुल बन्ने भएपछि खुसी मिलेको बताउनुभयो । 

पुल निर्माण लगत्तै अग्लुङ्गसँगै छिमेकी जिल्ला प्युठानको गौमुखी गाउँपालिकाको अर्खा, रजबारा लगायतका विभिन्न स्थानमा १२ महिना सहज रूपमा सवारीसाधन सञ्चालन हुने स्थानीयहरूले बताएका छन् । अग्लुङ्गफेदी खोलामा बन्न लागेको यस पक्की पुलको शिलान्यास लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले संयुक्त रूपमा गर्नुभयो । 

त्यस अवसरमा भौतिक पूर्वाधार विकास मन्त्री ढकालले पुल निर्माण कार्य निर्धारित समयमा सम्पन्न निर्देशन दिनुभयो । सन्तुलित विकासको अवधारणा अनुसार प्रदेश सरकारले पूर्वाधार निर्माणको कामलाई प्राथमिकता राखेको भन्दै उहाँले विकास हरेक योजना निर्माणमा गुणस्तर कायम गर्न जरुरी रहेको बताउनुभयो । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पन्थीले विकट बस्तीलाई विकासको मूल धारमा ल्याउने गरी सरकार लागेको बताउनुभयो । निर्धारित समयमा पुल सम्पन्न गर्न स्थानीय तहले समेत सहजीकरण गर्ने मदाने गाउँपालिकाका उपाध्यक्ष सरिता खड्काले बताउनुभयो । 

गुणस्तरीय पक्की पुल निर्माण हुने विश्वास लिएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भीमार्जुन पाण्डेले बताउनुभयो । पुल निर्माणको जिम्मा एम/एस कमल–अर्जुन–सिटी–जेभी रेसुङ्गा गुल्मीले पाएको छ । २०८२ मङ्सिर ८ गतेसम्म सम्पन्न गर्ने गरी जिम्मा पाएका निर्माण कम्पनीका सञ्चालक विजय खनालले बजेट व्यवस्थापनमा कुनै समस्या नआए निर्धारित समयभन्दा अगाडि नै पुल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सडक पूर्वाधार विकास कार्यालय गुल्मीमार्फत चार करोड १४ लाख २९ हजार ९७९ रुपियाँको लगानीमा पुल निर्माण कार्य अघि बढेको कार्यालयका प्रमुख सचितानन्द चौधरीले बताउनुभयो । यस अग्लुङ्गफेदी खोला पक्की पुलको लम्बाइ २५ मिटर रहेको छ ।