• १ मंसिर २०८१, शनिबार

संविधान ढुंगाको अक्षर होइन : अर्थमन्त्री पौडेल

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसा पौडेल। तस्बिरः लक्ष्मण पौडेल

भैरहवा, मंसिर १ गते। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधान ढुंगाको अक्षर नभएको बताउनुभएको छ। यो गतिशील दस्तावेज भएको र समाजको आवश्यकताका आधारमा परिस्कृत हुँदै जाने उहाँको भनाइ छ। 

थारु कल्याणकारिणी सभाको २३ औँ महाधिवेशनको शनिबार भैरहवामा उद्घाटन गर्नुहुँदै अर्थमन्त्री पौडेलले संविधानको रक्षा र प्रभावकारी कार्यान्वयनको माध्यमबाट समाजको विकास गर्न सकिने बताउनुभयो।

अहिलेको सरकारले थारु समुदायको उन्नति र प्रगतिको लागि अगुवाइ गर्ने उहाँले बताउनुभयो। उहाँले थारु समुदायमाथि भइरहेका विभेद र असमानता सम्पूर्ण रुपमा समाप्त गर्नका लागि नीति र निर्णयका माध्यमबाट अगुवाइ गर्ने बताउनुभयो।

अर्थमन्त्री पौडेलले २०७२ सालको संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका दलहरु सहभागी भएर अहिलेको सरकार बनेको पनि बताउनुभयो।

उहाँले भन्नुभयो, "राणा शासन, पञ्चायती व्यवस्था र राजतन्त्रको अन्त्यका लागि संघर्ष गरेका दलहरुको सहभागितामा अहिलेको सरकार बनेको छ। थारु समुदायमाथि कुनै प्रकारको विभेद हुँदैन।"

थारु समुदाय आदिवासी र धर्तीपुत्र भएको उहाँले बताउनुभयो। यो समुदायप्रति गर्व गर्नुपर्ने उहाँले बताउनुभयो। राष्ट्रिय स्वाधिनताको रक्षाका लागि यो समुदायको महत्वपूर्ण भूमिका रहेको र यो योगदान इतिहासमा स्वर्ण अक्षर लेखिने अर्थमन्त्री पौडेलको भनाइ छ।

“सामाजिक सदभाव र एकता थारु समुदायको विशेषता हो। यहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु। नेपाल सबै जातजातिको फूलबारी हो” अर्थमन्त्री पौडेलले भन्नुभयो, “हामीबिच तिक्तता होइन, मित्रता र एकता आवश्यक छ। यहाँहरुको प्रयास अनुकरणीय छ।”

कार्यक्रममा थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमलाल चौधरीले थारु समुदाय अधिकारबाट वञ्चित भएको बताउनुभयो। उहाँले थारु समुदायको माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुभयो।

थारु कल्याणकारिणी सभाका कार्यवाहक अध्यक्ष देवीप्रसाद चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।