• ७ मंसिर २०८१, शुक्रबार

बुटवल मेला: हस्तकला प्राथमिकतामा

blog

मेलाको तयारीका लागि बनाइएको सचिवालय ।

छविलाल पाण्डे 

बुटवल, मङसिर १ गते । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले बुटवलमा सञ्चालन गर्ने औद्योगिक व्यापार मेलामा कृषि, महिला उद्यमी तथा हस्तकलालाई विशेष प्राथमिकता दिइने भएको छ । 

मेलाको महिला उद्यमी सहभागिता संयोजन समितिका समन्वयकर्ता धनकुमारी खनालका अनुसार मेलामा सहभागी हुने महिला उद्यमीका उत्पादन, कृषिजन्य उत्पादन तथा हस्तकलाका सामग्रीका स्टललाई विशेष छुट प्रदान गरिनेछ । 

‘लगानी लुम्बिनीमा : समृद्धि देशमा’ भन्ने नारासहित बुटवल उद्योग वाणिज्य सङ्घले आगामी पुस ३ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा औद्योगिक व्यापार मेला आयोजना गर्न लागेको हो । 

मेलाको तयारीका लागि अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा सचिवालय स्थापना गरिएको छ । मेलासम्बन्धी सबै गतिविधि मेलास्थलबाट गर्ने गरी सचिवालय स्थापना गरिएको बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिनुभयो ।  

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले यो मेलालाई अहिलेसम्म भएको मेलाभन्दा धेरै फरक बनाउने गरी तयारी गरिएको र त्यसको लागि कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा विषयगत समितिका संयोजक लागिपरेको बताउनुभयो । 

त्यसैगरी मेलाको उद्देश्यअनुसार बस्तुको प्रदर्शनीलाई समेत ध्यानमा राखेर गुणस्तरीय बस्तुको प्रदर्शनी तथा विक्री वितरण गर्ने गरी स्टल बुकिङ खुला गरिएको कार्यसम्पादन समितिका उपसंयोजक तथा स्टल बुकिङ समितिका समन्वयकर्ता सुरज भट्टराईले जानकारी दिनुभयो ।  

उहाँका अनुसार मेलामा करिब पाँच सय स्टल रहनेछन् । सङ्घले उत्पादक र उपभोक्तालाई जोड्ने पुलको रूपमा यो मेलालाई लिएको जनाएको छ । सङ्घका अध्यक्ष अर्यालले महिला उद्यमीले उत्पादन गरेका हस्तकलाका सामानलाई प्राथमिकता दिने बताउँदै खासगरी नेपाली उत्पादनलाई मेलामा पहिलो प्राथमिकता दिने जानकारी दिनुभयो ।