• ७ मंसिर २०८१, शुक्रबार

अर्थिङ्ग टावर स्थापनाको माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र

blog

तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ
प्युठान, मङ्सिर १ गते ।
 जिल्लाको गौमुखी गाउँपालिका क्षेत्रमा चट्याङको जोखिम कम गर्न सार्वजनिक स्थलमा अर्थिङ्ग टावर स्थापनाको माग राखिएको छ । विगतका वर्षमा चट्याङका कारण मानवीय र पशुचौयामा क्षति व्यहोर्नु परेको भन्दै सार्वजनिक स्थलमा अर्थिङ्ग टावर स्थापना गर्न माग राखिएको हो ।

पच्चीस वर्ष भित्र एउटै बस्तीका छ जना व्यक्तिको चट्याङले ज्यान लिएको स्थानीय ज्ञामुराम न्यौपानेले बताउनुभयो । गौमुखी –५ खुङको राँगाकाट्नेदेखि माझिली गोठाक्नासम्मको सानो क्षेत्र जोखिम क्षेत्र बनेको उहाँले बताउनुभयो । चट्याङबाट बच्ने अनेकन् प्रविधिको विकास भइरहेको अवस्थामा कसरी बस्तीलाई सुरक्षित बनाउने विषयमा सोच्नुपर्ने उहाँको भनाइ छ ।

मदाने–१ देखि गौमुखी–७ जोड्ने सडक स्तरोन्नतिको माग राखिएको छ । यस्तै सुन्तला, एबोकार्डाे र दाते ओखर खेती प्रवर्द्धन गर्नुपर्ने, ठुलावेसिमा कृषि सङ्कलन केन्द्र भवन बनाउन माग राखिएको हो । गौमुखी गाउँपालिका–५ ठूलावेसीका अध्यक्ष बरुणध्वज मल्लले लुम्बिनी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीलाई ज्ञापनपत्र बुझाउनुभएको हो ।

गुल्मी जिल्लामा पक्की पुलको शिलान्यास गर्न जाने क्रममा मन्त्री ढकाल र पन्थीलाई ज्ञापनपत्र बुझाउनुभएको हो । मन्त्री ढकालले मागहरू सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।