• ७ मंसिर २०८१, शुक्रबार

किसानको आकर्षण मकै खेतीतर्फ

blog

श्रीलङ्का टापुमा मकै खेती । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की
वराहक्षेत्र, मङ्सिर १ गते  ।
 सुनसरीका किसानहरू मकै खेतीतर्फ आकर्षित भएका छन् । मकैबाट आम्दानी हुने भएपछि किसानहरूको आकर्षण मकै खेतीतर्फ बढेको छ । वर्षमा तीन पटकसम्म मकै उत्पादन गर्दै आएका किसानहरूको प्राथमिकता हिउँदे बालीमा मकै खेती पर्दै आएको छ । अरू हिउँदे बालीभन्दा मकैमा राम्रो आम्दानी हुने भएपछि किसानहरूको आकर्षण मकै खेतीतिर बढ्दै  गएको हो ।

मकै पाक्न नपाउँदै बारीबाटै बिक्री हुन थालेपछि किसानहरूले ठुलो क्षेत्रफलमा मकै खेती गर्दै आएको कृषि ज्ञानकेन्द्र सुनसरीले जनाएको छ । सुनसरीका कृषकहरूले कात्तिकको पहिलो हप्ताबाटै मकै खेती लगाउँदै आएका छन् । धान भित्राएसँगै हिउँदे बाली मकै लगाउन हतारो हुने गरेको छ । मकै उत्पादनका लागि उर्वर भूमि मानिने सुनसरीमा बढी मकै खेती हुने गरेको छ ।

जिल्लाको वराहक्षेत्र नगरपालिका, इनरुवा नगरपालिका, रामधुनी नगरपालिका, भोक्रहा नरसिंह गाउँपालिका, हनिनगर गाउँपालिका, कोशी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, बर्जू गाउँपालिका, गढी गाउँपालिकामा व्यावसायिक रूपमा किसानहरूले मकै खेती गर्दै आएका छन् । किसानहरूले प्रति कठ्ठा पाँचदेखि बार मनसम्म मकै उत्पादन गर्दै आएका छन् ।

अन्नको भण्डार मानिने तराईका जिल्लाहरू मध्ये सुनसरी जिल्लामा गत वर्षको पछिल्लो तथ्याङ्कअनुसार किसानहरूले १० हजार ६४१ हेक्टर क्षेत्रफलमा मकै खेती लगाएकोमा ८३ हजार १२ मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार किसानहरूले यस वर्ष पनि उन्नत जनतको मकै लगाउन बारी तयारी गरेका छन् । छिटो बारी तयारी गर्नेहरूले मकै लगाई सकेका छन् । मौसम अनुकूल भएमा गत वर्षको भन्दा यस वर्ष मकै खेती गर्ने कृषकहरू बढ्ने र मकैको क्षेत्रफसमेत बढ्ने उहाँले बताउनुभयो । गत वर्ष मकै उत्पादनमा वृद्धि भएसँगै मकैको मूल्यमा समेत वृद्धि हुँदा किसानले प्रति केजी ३० देखि ३७ रुपियाँसम्म बिक्री गरेका थिए । सुनसरीको दक्षिणी क्षेत्रमा समेत किसानहरूले मकै राम्रो उत्पादन गर्दै आएको गढी गाउँपालिकाका कृषक सुरेन मेहताले बताउनुभयो ।

साइलेज घाँसका लागि हरियो मकै बारीबाटै बिक्री हुन थालेपछि श्रीलङ्का टापुका बद्री राईले एक विघाह दश कठ्ठाको दुधे मकै तीन लाखमा गत वर्ष बिक्री गर्नु भएको थियो । यस वर्ष पनि उहाँले एक विघाह दश कठ्ठाका क्षेत्रफलमा मकै लगाइसक्नु भएको छ । उहाँ श्रीलङ्का टापुका प्रतिनिधि किसान मात्र हुनुहुन्छ । टापुमा एक हजार विघाहभन्दा बढी क्षेत्रफलमा मकै खेती हुँदै आएको छ ।

कात्तिकमा रोपेको मकै चैतमा तयार हुन्थ्यो । मकै पाक्नुभन्दा डेढ महिना अगाडि नै खेतबाटै हरियो बोट बिक्री हुँदा टापुका किसानले पुनः बारीमा मकै लगाउँदै आएको स्थानीय सन्तोष मण्डलले बताउनुभयो । 

टापुमा एक वर्षमा दुई पटकसम्म उन्नत जातको मकै खेती हुँदै आएकोमा  साइलेज बनाउन मकै बिक्री हुन थालेपछि टापुका किसानहरू वर्षमा तीन पटकसम्म मकै खेती गर्दै आएका छन् । खेतबाटै बोटसहित मकै उठाउने भएपछि किसानलाई परिश्रम पनि कम पर्ने, फाइदा बढी हुने र पुनः बाली लगाउन खेत खाली हुँदा टापुवासीहरू मकै खेतीमा आकर्षित भएका छन् । 

मकै उत्पादनका लागि उर्वर भूमि मानिने टापुमा प्रति कठ्ठा पाँचदेखि आठ मनसम्म किसानले मकै उत्पादन गर्दै आएका छन् । टापु क्षेत्रमा बलौटे माटो भएकाले टापुमा अन्य बालीभन्दा मकै बाली उत्पादन हुने गरेको छ ।