• ७ मंसिर २०८१, शुक्रबार

भुजेल साहित्यमा विमर्श

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १ गते । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले ’मातृभाषा साहित्यको १६ औँ शृङ्खलामा ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रम सम्पन्न  भएको छ । कार्यक्रममा भुजेल भाषा अध्येता विशम प्हुगालद्वारा लिखित ‘भुजेल भाषाको साहित्य’ विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नेपाल बहुभाषिक समुदाय रहेको देश भएको बताउनुभयो । प्रज्ञा–प्रतिष्ठानले मातृभाषाको जागरणका लागि मातृभाषा साहित्य शृङ्खला सुरु गरेको बताउनुभएको उहाँको भनाइ थियो । 

प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्ने क्रममा मातृभाषा साहित्य शृङ्खला सुरुदेखि नै मातृभाषा साहित्यका सर्जकलाई बुझ्दै अनुसन्धान गर्न सक्ने अवसर मिलेको छ । यस कार्यक्रमले जनजातीय स्रष्टामा ऊर्जा र उत्साह थपेको बताउनुभएको थियो । कार्यक्रमका सभाध्यक्ष तथा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य, साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले विभिन्न जातजातिले इतिहासमा भोगेका पीडा, उत्पीडन, उकाली ओराली र आरोह अवरोहलाई बुझ्न मातृभाषा साहित्य शृङ्खला महत्वपूर्ण गाथा बनेको बताउनुभयो ।

कलाकार छेवाङ तेन्जिङ लामाले कार्यक्रममा रैथाने बाजा टुङ्नाको धुन प्रस्तुत गर्नुभएको थियो । साथै कुलुङ भाषाका कवि फुलमाया कुलुङ, साम्पाङ राई भाषामा नानुमती राई र मैथिली भाषामा स्नेह झाले कविता वाचन गर्नुभएको थियोे ।

त्यसै गरी सहभागीका तर्फबाट प्राज्ञ विष्णु सिञ्जाली, प्रताप नाछिरिङ, सोम धिमाल र श्रीराम उपाध्यायले उक्त भुजेल भाषाको साहित्य विषयक कार्यपत्रमाथि सुझाव तथा जिज्ञासा प्रस्तुत गर्नुभएको थियो ।