• १ मंसिर २०८१, शनिबार

ब्रान्डले बनेका उद्यमी, चितवनको मिठो तास

blog

वसन्त पराजुली

नारायणगढ, मङ्सिर १ गते । चितवन जानुहुन्छ ? तासबारे कति थाहा छ ? खेल्ने होइन नि खाने तास । चितवनका परिकारमा तास एउटा ब्रान्ड बनेको छ । स्थानीय र आगन्तुक सबैले ठुला साना प्रायः सबै होटल रेस्टुरेन्टमा तास नै खोज्छन् । त्यसैले चितवनमा रेस्टुरेन्ट चलाउनेले तासको परिकार राख्नै पर्छ र प्रतिस्पर्धामा खरो उत्रिन नयाँपन दिनै पर्छ । 

“नारायणगढमा बसेर तास बेच्दिन भनेर त सुखै पाइँदैन । यो चितवनकै ब्रान्ड हो,” भरतपुर महानगरपालिका–२ का ऋषि अर्यालले भन्नुभयो । हुन पनि उहाँको मामाघर रेस्टुरेन्ट चलेकै तासले भन्दा हुन्छ ।

तास चर्चासँगै उहाँको विशेषता पनि रेस्टुरेन्ट चल्ने अर्को कारण हो । उहाँ वैदेशिक रोजगारीमा गए पनि नेपालमै सम्भावना बोकेर फर्कनेमा पर्नुहुन्छ । उहाँलाई चिन्ने जान्नेले यसलाई आकर्षण मानेका छन् । 

१० वर्षसम्म वैदेशिक रोजगारमा गएर पनि उहाँले नेपाल फर्किई व्यवसायसँगै राजनीतिक र सामाजिक प्रतिष्ठा कमाइरहनुभएको छ । २०७० सालमा विदेशबाट फर्किए लगत्तै आफन्तसँगको सहकार्यमा मामाघर रेस्टुरेन्ट सञ्चालन गर्नुभयो । अहिले त्यो अर्यालको एकल भएको छ । 

सहकार्यमा सुरु गरेको व्यवसायमा दुई जनाबिचमा मतान्तर भएपछि आफूले केही वर्षमै एकल बनाएको उहाँको भनाइ छ । त्यसमा कामाइकै लगानी भएको उहाँको भनाइ छ ।  

“अहिले मात्रै रेस्टुरेन्ट विस्तार गर्न ८० लाख रुपियाँ खर्च गरेँ । यसरी खर्च गरेको रकम यही रेस्टुरेन्टकै कमाइ त हो,” उहाँले भन्नुभयो, “नपुगेको केही रकम बैङ्कबाट ऋण लिएको छु ।” तासबाहेक उहाँको रेस्टुरेन्टमा अहिले प्रायः खानाका परिकार पाइन्छ । खाना, बिरियानी, मम, चाउमिन, छोयला, सेकुवा यहाँका विशेष परिकार हुन् । १० जनाभन्दा बढीलाई रोजगारी दिएका अर्यालले दैनिक व्यापारबारे चाहिँ खुलेर बताउन चाहनुभएन तर पनि दैनिक ५० हजारभन्दा बढीको कारोबार हुने उहाँले बताउनुभयो । यो भनेको मासिक १५ लाख रुपियाँ हो । यसैबाट मासिक पाँच/सात लाख रुपियाँ बचाउन सकिने सङ्केत गर्नुभयो । 

“घर भाडा, अनि कर्मचारीको खर्च, बैङ्कको ब्याज तिरेर पनि अहिले मासिक तीन/चार लाख रुपियाँ त कमाइ भइहाल्छ,” उहाँले भन्नुभयो, “यो पैसा अमेरिका र अस्ट्रेलियामा कमाउन नसकिने पैसा हो ।”

विदेशमा नेपालीलाई काम गर्न सहज नभएको उहाँको अनुभवले उहाँलाई यता तानेको हो । “सुरुमा विदेश जानेले पाउने काम भनेको भाँडा माझ्ने नै हो । मैले पनि त्यसैबाट काम सिकेको हो । भाँडा माझ्दै हेल्पर अनि कुक सिकेको हुँ । सिकेको सिपलाई आफ्नै देशमा आएर व्यवहारमा उतार्नु पर्छ भनेर नै म नेपाल फर्किए,” उहाँले भन्नुभयो । नेपालमा बसेर काम गर्दा परिवारसँगै रहन पाउनुको मजा नै बेग्लै भएको उहाँले बताउनुभयो । 

अर्यालले अहिले रेस्टुरेन्टबाट बचेको समय राजनीति र समाज सेवामा समेत लगाउनुभएको छ । जलदेवी सामुदायिक वनको उपाध्यक्ष, होटल व्यवसायी सङ्घको वरिष्ठ उपाध्यक्ष बागेश्वरी प्राकृतिक चिकित्सालयको सदस्यलगायतका आधा दर्जनभन्दा बढी सामाजिक सङ्घ संस्थामा उहाँ आबद्ध हुनुहुन्छ । भरतपुर महानगरपालिका–२ का वडाध्यक्ष मनोज रानाभाट ऋषि समाजकै नमुना भएको बताउनुहुन्छ ।