• ८ मंसिर २०८१, शनिबार

एक करोड लगानीको पार्क बेवारिसे

blog

रघुगङ्गा गाउँपालिका ५ झिँमा निर्माण गरिएको पार्क । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य  
म्याग्दी, कात्तिक ३० गते ।
म्याग्दीको पर्यटकीय स्थल टोड्केमा एक करोड रुपियाँ लागतमा बनाइएको पार्क बेवारिसे बनेको छ । पर्यटकीय मौसममा समेत पार्क सुनसान छ । पार्कको संरक्षण, प्रचारप्रसार र पार्कसम्म पुग्ने सडकको सहज पहुँच नहुँदा पर्यटकीय सिजनमा पनि आशा गरेअनुसार पर्यटक आगमन छैन । स्थानीय सरकारले पार्कको संरक्षण नगर्दा अहिले पार्क बेवारिसे जस्तो बनेको छ । 

दुई वर्ष अघि पर्यटन विभाग र रघुगङ्गा गाउँपालिकाको लागत साझेदारीमा वडा नम्बर ५ झीँको सिद्ध सामुदायिक वनमा एक करोड एक लाख रुपियाँमा पार्क निर्माण गरिएको थियो । पार्क निर्माण भए पनि सोचेअनुसार पर्यटक नआएको स्थानीयवासीहरुको भनाइ छ । स्थानीय सरकारले पार्कको भौतिक संरचनाको संरक्षणमा ध्यान नदिँदा जीर्ण हुन थालेको स्थानीयको भनाइ छ । 

रघुगङ्गा र मङ्गला गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्र समेटिएको पर्यटकीय स्थल टोड्केको भ्रमणमा जाने पर्यटकहरुलाई लक्षित गरी रघुगङ्गा गाउँपालिकाले पार्क निर्माण गरेको भए पनि सोचे अनुसार पर्यटक नआएको वडा नम्बर ५ झीँका वडाध्यक्ष मनबहादुर शेरमञ्जाले बताउनुभयो ।  


विभागको ७० लाख र गाउँपालिकाको ३१ लाख रुपियाँ गरी एक करोड एक लाख रुपियाँ लागत अनुमानको उक्त योजनामा खुसीहोम बिल्डर्सले  ६६ लाख ३२ हजार ८७ लाख रुपियाँमा ठेक्का सम्झौता गरेर पार्कको पूर्वाधार निर्माण गरिएको हो ।

वडाध्यक्ष शेरमञ्जाका अनुसार पार्कमा ४ वटा विश्रामस्थल, एक वटा फाउन्टेन र एउटा भवन (घर) निर्माण गरिएको छ । जङ्गलको बिचमा खाली रहेका ठाउँहरुलाई उपयोग गरी पदमार्ग समेत निर्माण गरिएको छ । पार्क भित्र रेलिङसहितको एक सय ८२ मिटर पदमार्ग निर्माण गरिएको छ । झीँ गाउँदेखि पार्कसम्म जाने पदमार्ग समेत निर्माण गरिएको छ । महेन्द्र मावि झीँदेखि दुई सय ४० मिटर रेलिङसहितको पदमार्ग निर्माण गरिएको वडाध्यक्ष शेरमञ्जाले जानकारी दिनुभयो । पार्कमा विभिन्न प्रजातिका फूलहरु रोप्ने योजना भए पनि अझैसम्म रोपिएको छैन ।

झीँदेखि पार्क हुँदै टोड्केसम्म जानका लागि सडक र पदमार्ग निर्माण गरिएको छ । जङ्गलभित्रको पार्क शान्त वातावरणमा मनोरञ्जन लिनेहरुका लागि उपयुक्त स्थल भए पनि प्रचारप्रसार र पार्कको संरक्षणमा स्थानीय तहले ध्यान नदिँदा लगानी खेर गएको टोड्केको भ्रमणमा जानुभएका बेनीका अमित विश्वकर्माले बताउनुभयो ।


समुद्री सतहदेखि दुई हजार पाँच सय मिटरको उचाइमा अवस्थित टोड्केबाट धौलागिरि, मानापाथी, नीलगिरी, अन्नपूर्ण र माछापुच्छ्रे लागायत एकदर्जन हिमचुचुराहरुको अवलोकन गर्न सकिन्छ ।

सूर्योदय, गुराँसको जङ्गल, पहाडी भूगोल र ग्रामीण मगर संस्कृतिको अवलोकनका हिसावले टोड्के महत्त्वपूर्ण पर्यटकीय स्थलका रुपमा परिचित भए पनि बेनीदेखि स्तरीय सडक नहुँदा पर्यटक आगमन सोचे अनुसार नभएको टोड्के हिल रिर्सोटका सञ्चालक भीम शेरचनले बताउनुभयो । बेनी–अर्थुङ्गे–पुलाचौर–चिप्लेटी–डडुवा–पूर्ण गाउँ र बेनी–घतान–पात्लेखेत–झीँ तथा बेनी–बाबियाचौर–कुहुँ हुँदै पूर्ण गाउँ भएर टोड्के पुग्न सकिन्छ ।