• २५ पुस २०८१, बिहिबार

श्रीलङ्कामा वाम गठबन्धनको शानदार जित

blog

कोलम्बो, कात्तिक ३० गते । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेको वाम गठबन्धनले मध्यावधि विधानसभा चुनावमा शानदार जित हासिल गरेको छ । मार्क्सवादी दिसानायकेले भ्रष्टाचारविरुद्ध लड्ने र चोरी भएको सम्पत्ति फिर्ता गर्ने वाचाका साथ सेप्टेम्बरमा भएको राष्ट्रपतीय चुनावमा विजय हासिल गर्नुभएको थियो ।

तत्काल चुनाव गराउने र आफ्नो एजेन्डाका लागि संसदीय समर्थन सुरक्षित गर्ने उहाँको निर्णयलाई समर्थन मिलेको छ । दिसानायकेको नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनले २२५ सदस्यीय विधानसभामा कम्तीमा १२३ सिट जितिसकेको छ भने मतगणना भइरहेका अन्य केही स्थानमा पनि अग्रता कायम भएको छ ।

समाचार तयार पार्दासम्म गणना भएका तीन चौथाइभन्दा बढी मतमध्ये गठबन्धनले ६२ प्रतिशत मत प्राप्त गरेको छ भने विपक्षी नेता सजिथ प्रेमदासाको पार्टी १८ प्रतिशत मतका साथ निकै पछि परेको छ ।

“जनताले भ्रष्टाचार र भ्रष्ट प्रणालीबाट छुटकारा पाउनका लागि मतदान गरेका छन्,” चुनावमा एनपीपीलाई समर्थन गर्ने सूचना प्रविधिका व्यवसायी चानाका राजपाक्षले शुक्रबार एएफपीलाई बताउनुभयो ।

अल्पसङ्ख्यक तमिल समुदायको बाहुल्य रहेको उत्तरी जिल्ला जाफनामा उहाँको पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

एक मजदुर परिवारमा जन्मिएका ५५ वर्षीय राष्ट्रपति दिसानायकेले बिहीबारको चुनावमा मतदान गरेपछि संसदमा ‘सशक्त बहुमत’ साथ आफ्नो गठबन्धनलाई अगाडि बढाउने अपेक्षा गरेको बताउनुभएको थियो ।

उहाँले भन्नुभयो, “हामीलाई विश्वास छ, यो एक महत्त्वपूर्ण चुनाव हो जसले श्रीलङ्कामा एउटा परिवर्तनको सङ्केत गर्नेछ । यो चुनावमा एनपीपीले संसदमा बलियो बहुमतका लागि जनादेश पाउने हाम्रो विश्वास छ ।”

प्रहरीका अनुसार, हालका वर्षहरूमा अधिकांश मतदानको विपरीत नौ घण्टाको मतदान अवधि कुनै हिंसात्मक घटना बिना बितेको छ । तर ड्युटीमा रहेका बेला एक प्रहरी हवल्दारसहित तीन जना निर्वाचन कार्यकर्ताको रोगका कारण मृत्यु भएको थियो ।

श्रीलङ्कामा गत सेप्टेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा भन्दा कम ७० प्रतिशतको हाराहारीमा खसेको सञ्चारमाध्यमले जनाएका छन् ।

करिब २५ वर्षदेखि सांसद रहँदै आउनुभएका वर्तमान राष्ट्रपति दिसानायकेले केही समयका लागि कृषिमन्त्रीको रूपमा समेत काम गर्नुभएको थियो । उहाँको एनपीपी गठबन्धनले निवर्तमान विधानसभामा जम्मा तीन सिट मात्र जितेको थियो ।

देशलाई सन् २०२२ को आर्थिक सङ्कटतर्फ धकेलेको आरोप लागेका संस्थापन पक्षका राजनीतिज्ञहरूबाट आफूलाई सफलतापूर्वक अलग्गै राखेपछि उहाँ सेप्टेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनबाट राष्ट्रपति पदका लागि निर्वाचित हुनुभएको थियो । रासस/एएफपी