• ७ मंसिर २०८१, शुक्रबार

सम्झौता भएको आठ वर्षमा पनि बनेन माडी नदी पुल

blog

स्वर्गद्वारी नगरपालिकाको जलुकेमा आठ वर्षदेखि निर्माणधिन पक्की पुल । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ

प्युठान, कात्तिक ३० गते । जिल्लाको एउटा पक्की पुल सम्झौता भएको आठ वर्षसम्म निर्माण सम्पन्न हुन सकेको छैन । स्वर्गद्वारी नगरपालिकाको ३ र ७ नम्बर वडा जोड्न माडी नदीको जलुकेमा बन्दै गरेको पुल आठ वर्षदेखि निर्माणाधीन अवस्थामा छ ।

२०७३ वैशाख १६ गते निर्माण कम्पनी मृत संजीवनी-लोहनी ब्रदर्शले ९ करोड ८५ लाख रुपियाँमा पुल निर्माणको लागि सम्झौता गरेको सडक डिभिजन कार्यालय प्युठानका डिभिजन प्रमुख इन्जियिनर विसुनदास लामाले बताउनुभयो । २०७५ कात्तिक १५ भित्र निर्माण सक्ने गरी सम्झौता भए पनि उक्त पुल समयमा नबन्दा अहिलेसम्म पाँच पटक म्याद थप भइसकेको उहाँले बताउनुभयो ।

पछिल्लो समय थप भएको म्यादसमेत कात्तिक ८ गते सकिएको कार्यालयले जनाएको छ । अब निर्माण कम्पनीले जरिवना तिरेर दुई सय दिनभित्र काम सक्नुपर्ने प्रमुख इन्जिनियर लामाले जानकारी दिनुभयो । ८० मिटर लामो पुलको आधा भाग पुल मात्र बनेको छ । निर्माण व्यवसायीले कोभिड, आर्थिक अभाव लगायतका कारण देखाउँदै समयमै काम नगरेको स्थानीयको आरोप छ ।

“वर्षात सुरु हुन लाग्दा काम गरेजस्तो गर्ने र अलपत्र पार्ने गरिएको छ,” स्थानीय शरद विष्टले भन्नुभयो,“निर्माण व्यवसायीले लापरवाही र ढिलासुस्तीले विकासमा समेत बाधा पुगेको छ ।” उहाँले उक्त पुल नबन्दा भिंगृ क्षेत्रको विकासमा बाधा पुगेको बताउनुभयो । निर्माण कम्पनीका प्रतिनिधि आनन्द लोहनीले कम्पनीले अवको चार महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाउनुभएको छ । जिल्ला स्तरीय सर्वदलीय तथा सर्वपक्षीय बैठकमा लोहनीले मङ्सिर २ गतेदेखि काम शुरु गर्ने गरी लागेको बताउनुभयो ।