• ७ मंसिर २०८१, शुक्रबार

टुकुचाको ढलमा सङ्क्रामक पोलियो जीवाणु नभएको पुष्टि

blog

काठमाडौँ,  कात्तिक ३० गते ।  गत असारमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको पुष्टि भएको छ । 

थाइल्याण्डको ब्याङ्ककमा गरिएको नमुना परीक्षणबाट उक्त जीवाणु पोलियो सङ्क्रामक नभएको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाकी मेडिकल प्रमुख लिली श्रेष्ठले राससलाई जानकारी दिनुभयो । 

“टुकुचाखोलामा भेटिएको पोलियो भाइरस सर्‍याे वा सरेन भन्ने यकिन गर्न हामीले खोलामा मिसाइएको ढल र अन्य ठाउँबाट नमुना सङ्कलन गरेर पटकपटक परीक्षण गर्दा पुनः पोलियो भाइरस भेटेनाैं”, उहाँले भन्नुभयो, “ उक्त भाइरस सङ्क्रमण भएको भए खोलाको ढलको नमुनामा फेरि त्यो भेटिन्थ्यो । पोलियो भाइरस नदेखिएपछि हामीले सङ्क्रमित होइन भनेर पुष्टि गर्‍याैं ।” 

गत असारमा काठमाडौँ महानगरपालिका–१२, त्रिपुरेश्वर नजिकै बागमती र टुकुचाखोला सङ्गमबाट नमुना सङ्कलनपछि परीक्षण गर्दा पोलियो फेला परेको थियो । 

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले टुकुचाखोलामा पोलियो जीवाणु देखिएपछि निरन्तर नमुना सङ्कलन गरेर १३ पटक परीक्षण गर्दा त्यो पुनः नभेटिएको बताउनुभयो । 

सन् २०१७ देखि खोप शाखाले ढलबाट नमुना सङ्कलन गरेर पोलियो जीवाणु परीक्षण गर्दै आएको छ । काठमाडौँका उपत्यकाका बागमती, धोबीखोला, मनहरा, विष्णुमतीबाट नमुना सङ्कलन गरेर महिनाको दुईपटक यस्तो परीक्षण गर्दै आएको खोप शाखा प्रमुख डा. गौतमले बताउनुभयो । काठमाडौँ उपत्यकाबाहिर पोखरा, विराटनगर र जनकपुरका एक–एक स्थानबाट नमुना लिएर महिनाको एकपटक पोलियो जीवाणुको परीक्षण हुनेगरेको छ । 

सन् २०१० यता मुलुकमा पोलियो सङ्क्रमण भेटिएको छैन । पोलियो जीवाणुबाट फैलिने पोलियो सङ्क्रामक रोग हो । पोलियो सङ्क्रमणका बिरामीलाई ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुनेलगायत लक्षण देखिन्छन् । रासस