• ७ मंसिर २०८१, शुक्रबार

महानगरपालिकाद्वारा स्रष्टाद्वय सम्मानित

blog

गोरखापत्र समाचारदाता 

ललितपुर, कात्तिक ३० गते । ललितपुर महानगरपालिकाले संस्कृति, साहित्य, पुरातत्व र अनुसन्धानका क्षेत्रमा महìवपूर्ण योगदान दिनुभएका दुई स्रष्टालाई सम्मान गरेको छ । संस्कृति संरक्षणको क्षेत्रमा निरन्तर सक्रिय रहनुभएका  पुरातत्वविद्  हरिराम  जोशी र संस्कृतिविद्, अन्वेषक तथा  वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थलाई महानगरपालिकाले सम्मान गरेको हो । महानगरपालिकाले बिहीबार एक कार्यक्रम आयोजना गरी उहाँहरूलाई  आजीवन विशेष सुविधा दिने घोषणा गर्दै सम्मान गरेको हो । 

उहाँहरूको दिनचर्या सहज बनाउनका लागि सवारीसाधन, सुरक्षाकर्मीका रूपमा नगर प्रहरी, मोबाइल सेट हस्तान्तरण गरेर महानगरपालिकाले सम्मान गरेको हो । त्यस्तै उहाँहरू अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउनु परेको अवस्थामा लाग्ने सम्पूर्ण खर्च महानगरपालिकाले बेहोर्ने छ ।  महानगरपालिकाले यस्तै सम्मान स्वर्गीय वरिष्ठ साहित्यकार सत्यमोहन जोशीलाई पनि गरेको थियो । 

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले उहाँहरूले साहित्य, अनुसन्धान र सम्पदा संरक्षणमा पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै महानगरपालिकाले सम्मान गरेको बताउनुभयो । 

महर्जनले भन्नुभयो, “उहाँहरूको दिनचर्या सहज होस्, हिँडडुल गर्न सजिलो होस् भनेर नगर कार्यपालिकाबाट यस्तो निर्णय गरेका हौँ ।” जोशी महानगरपालिका वडा नं. ५ मा र कायस्थ वडा नं. ६ मा बस्दै आउनुभएको छ । उहाँहरू यसअगाडि पनि विभिन्न पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।