• १ माघ २०८१, मङ्गलबार

‘महजात्रा’ सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ३० गते । अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य १० वर्षको अन्तरालपछि फेरि मञ्चमा एकसाथ आउनुभएको छ । मह जोडीको दशकपछि ‘महजात्रा’ नामक प्रहसनमार्फत पुनरागमन हुन लागेको हो । मिरा फाउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ आयोजना गरिएको प्रहसन मङ्सिर १८ गतेसम्म प्रज्ञा–प्रतिष्ठानमा चल्ने छ । 

प्रहसनको प्रमुख विशेषता हास्य–व्यङ्ग्यको माध्यमबाट समाजमा विद्यमान समसामयिक समस्या र विविध मुद्दालाई उजागर गर्नु रहेको छ । नेपाली समाजका परम्परा, राजनीतिक, सामाजिक संरचना र सांस्कृतिक कुरीतिलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्ने प्रहसन मह जोडीको विशिष्ट र मौलिक शैलीमा हुने हास्य कलाकार किरण केसीले बताउनुभयो ।

मह जोडीले यसअघि प्रस्तुत गरेका लोकप्रिय प्रहसनहरू यमलोक, प्यारालायसिस, अंशबन्डा, विज्ञापन, श्राद्ध, नेपाल बन्द, रिमोट कन्ट्रोल, वडा नं. ३४, दुई सय पाँच, नाता र शपथग्रहण जस्ता प्रस्तुति नेपाली हास्य क्षेत्रमा लोकप्रिय छन् । 

मह जोडीले पुरानो शैलीको हास्यव्यङ्ग्यलाई पुनर्जीवित गर्ने उद्देश्य लिएको छ । प्रहसनमा मनोरञ्जनसँगै सामाजिक सन्देशको सम्मिश्रण हुने छ, जसले दर्शकलाई हसाउँदै समाजप्रति नयाँ दृष्टिकोण राख्न प्रेरित गर्ने छ । हालैका वर्षमा नेपाली समाजमा भएका विविध राजनीतिक, सामाजिक र सांस्कृतिक घटनाको आलोचनात्मक दृष्टिकोण यस प्रहसनमा देख्न पाइने छ ।