• ७ मंसिर २०८१, शुक्रबार

पुइलेक विमानस्थलका लागि ठाउँ उपयुक्त छ : सभापति देउवा

blog

प्रस्तावित पुइलेक विमानस्थलको स्थलगत निरीक्षणमा पुग्नु भएका सभापति देउवा । तस्बिरः पुष्कर भण्डारी

पुस्कर भण्डारी

डडेल्धुरा, कात्तिक २९ गते । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रस्तावित पुइलेक विमानस्थलको स्थलगत अवलोकन गरेर ठाउँ उपयुक्त भएको बताउनुभएको छ । 

जिल्लाको पश्चिमतर्फ रहेको अमरगढी नगरपालिका ६ सँग जोडिएको अजयमेरु गाउँपालिका –१ समैजी पुइलेक डाँडामा पुगेर उहाँले यस्तो बताउनुभएको हो । गृहजिल्ला डडेल्धुरामा रहनुभएका सभापति देउवा बिहीबार प्रस्तावित पुइलेक विमानस्थलको निरीक्षणका लागि पुग्नुभएको थियो । 

निरीक्षणपछि उहाँले हवाइमैदान निर्माणका लागि सम्भाव्यता सर्भे भएको बताउनुभएको थियो । अब ‘डिटेल सर्भे, डिटेल डिजाइनिङ’ गरिने देउवाको भनाइ छ । यी दुईवटै सर्भे भएपछि बजेट ल्याउने उहाँले बताउनुभयो । 

२०७६ मा विमानस्थल निर्माणका लागि उक्त स्थान छनोट गरिएको थियो । नागरिक उड्डयन प्राधिकरणको टोलीले स्थलगत अध्ययनका आधारमा साविक समैजी गाविसको पुइलेकदेखि वयलडाँडासम्मको क्षेत्र उपयुक्त हुने बताउनुभयो । त्यसपछि विमानस्थल निर्माणका लागि सर्वेक्षण भएको थियो ।

तीन पटक प्रारम्भिक अध्ययन गरी विमानस्थल निर्माण गर्न चार अर्ब रकम आवश्यक पर्ने अनुमान गरिएको थियो । उग्रतारा–मेलौली सडकसँग जोडिएको स्थान पुइलेकमा विमानस्थल निर्माणका लागि प्रारम्भिक चरणको अध्ययनपछि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गर्ने तयारी थालिएको दुई वर्ष पुगेको छ ।  

पुइलेकमा एक हजार मिटरदेखि एक हजार सातसय मिटर लम्बाईको धावनमार्ग बनाउन सकिने प्रारम्भिक अध्ययनमा देखिएको थियो । २०७९ भदौ महिनाको सुरुमै तेस्रो पटक प्रारम्भिक अध्ययन गरेर (ईआईए) को तयारी थालिएको थियो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७८ मा नै पाँच करोड रकम विनियोजन गरेको थियो । संघीय सरकारले ६० लाख रकम समेत विनियोजन गरेको थियो । उक्त रकम अध्ययन र डिपिआरमा खर्च भएको छ । 

समैजीमा गरिएको अध्ययनअनुसार दुईतर्फी ल्याण्डिङ्ग हुने देखिएको थिएन । दक्षिण तर्फबाट मात्रै ल्याण्डिङ्गको सम्भावना देखिएको प्राविधिक अध्ययन गरिरेको आईएफआइडि नेपालका इञ्जिनियर स्मरण भट्टले बताउनुभएको थियो । उहाँका अनुसार कटिङ्ग धेरै गर्नुपर्ने देखिएको छ । विमानस्थलको चौडाइ भने १५० मिटरको हुने देखिएको छ ।  

सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, दार्चुला, बैतडी, बझाङको केन्द्रविन्दु भएकै कारण डडेल्धुरामा विमानस्थल सञ्चालनमा आए सुदूरपश्चिमको दुर्गमका बासिन्दाले यातायातमा राहत हुने विश्वास लिएका छन् ।